
बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की गण्डकी प्रदेशको उत्कृष्ट कृषकको रुपमा पुरस्कृत हुनुभएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा म्याग्दीका कार्की सहित गण्डकी प्रदेशका उत्कृष्ट पाँच जना कृषकहरुलाई नगद सहित पुरस्कृत गरिएको हो ।
५० वर्षदेखि व्यवसायिक तरकारी खेतीमा संलग्न कार्कीलाई प्रदेश सरकारले नगद रु. २० हजार सहित पुरस्कृत गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले जानकारी दिनुभयो ।


११ वटा जिल्लाका कृषि ज्ञान केन्द्रको सिफारिस र मन्त्रालयको टोलीले स्थलगत अनुगमन गरेर उत्कृष्ट कृषक छनौट गरेको हो । कार्की कृषि फार्मका सञ्चालक चन्द्रबहादुरले लभ्लीहिल नजिकै १३ रोपनी जग्गामा व्यवसायिक रुपमा मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । चन्द्रबहादुरले यसअघि पनि जिल्ला स्तरमा पुरस्कृत र विभिन्न प्रतियोगितामा बिजयी हुनुभएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ तिरीको ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्मका सञ्चालक छिरिङ ढोका गुरुङलाई प्रदेश सर्वोकृष्ट कृषकको रुपमा सम्मान गरिएको छ । गोरखा नगरपालिका–९ का राममाया बस्नेत, ढोरपाटन नगरपालिका–१ का चन्द्रलाल पाण्डे र हप्सेकोट गाउँपालिका–४ का बाटुली तिवारीलाई पनि प्रदेश उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ र मन्त्रालयका सचिव वासुदेव रेग्मीलगायतले सर्वोकृष्ट र उत्कृष्ट कृषकहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
