

बेनी, ः बुधबार बिहानको भारी बर्षापछि आएको पहिरोले म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकामा क्षति पु¥याएको छ ।
पहिरोमा पुरिएर मालिका गाउँपालिकामा एक जनाको मृत्यु, एक वेपत्ता भएका छन भने धवलागिरी गाउँपालिकामा पहिरो खस्दा म्याग्दी नदी केही समय आंशिक रुपमा थुनिएको थियो ।
मालिका गाउँपालिका–३ लुप्सीपारका लुप्सीपारका ३५ वर्षीय जगेन्द्र बिकको पहिरोमा पुरिएर मृत्यु भएको र उनका छोरा अन्दाजी १२÷१३ वर्षका सरोज विक वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
घर नजिकैको बारीको पाखामा दिउँसो घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर उनिहरुलाई पुरेको हो । जगेन्द्र र सरोज बुवाछोरा हुन् । वेपत्ताको खोजीका लागि जनप्रतिनिधी, स्थानीयबासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीहरुको टोली घटनास्थलमा खटिएका छन् ।


उक्त पहिरोले स्थानीय कुलबहादुर बुढाको एक हल गोरु वेपत्ता बनाएको छ । ढुङ्गा माटोले बनेको गोठ र चर्पी बगाएको छ । जल तथा मौसम विज्ञान विभागको दरवाङ स्थित बर्षा मापन केन्द्रको अभिलेख अनुसार बुधबार बिहान ६ देखि ८ बजेसम्म दुई घण्टामा दरवाङ क्षेत्रमा एक सय १० मिमि बर्षा भएको छ । धवलागिरी गाउँपालिकाको केन्द्र मुना क्षेत्रमा सोही अवधिमा ७७ मिमि बर्षा मापन भएको छ ।
धवलागिरी गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले बुधबार दिउँसो केही समय म्याग्दी नदी आंशिक रुपमा थुनिएको थियो । धवलागिरी गाउँपालिका –४ र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भिरबाट खसेको पहिरो थुप्रिदा नदीको नियमित प्रवाह आंशिक रुपमा रोकिएको र तलाउ बनेको थियो । ठुला दुङ्गा सहित पहिरोले बनाएको बाँध नाघेर नदी बग्न र तलाउमा पानीको सतह घट्न थालेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

दिउँसो १२ः३० देखि करिब एक घण्टा सम्म पहिरोका कारण तल्लो क्षेत्रमा पानीको सतह घटेको थियो । घटनास्थलमा पुगेका बासबोटको छिमेकी छहरीका बासिन्दा तम पुनले थुनिएको नदी बग्न थालेपनि भिरबाट पहिरो खस्ने क्रम भने नरोकिएको बताउनुभयो ।
करिब तीन सय मिटर लामो र ३० मिटर गहिरो तलाउ बनेको उहाँले बताउनुभयो । छहरी, कल्लेनी, बगर, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्तिहरु हुन् ।
धवलागिरी हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तत्काललाई जोखिम टरेपनि तटीय क्षेत्रका बासिन्दाहरुलाई खोला किनारमा नजान र सकर्त रहन अनुरोध गर्नुभएको छ ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पहिरो खसेको भिरको फेदीमा रहेको बाँसबोटका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी गरेको बताउनुभयो । बाँसबोटमा पाँच घरपरिवारको बसोबास छ । पहिरोका कारण धवलागिरी गाउँपालिका–४ खिवाङ, बगर र नाउरा जोड्ने सडक अवरुद्ध बनेको छ ।
सडक अवरुद्ध हुँदा स्थानीयबासीका साथै ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी १ र ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत आयोजना निर्माण कार्य प्रभावित बनेको छ ।
धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई म्याग्दीको जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध भएको छ । भारी बर्षापछि पहिरो खसेपछि बेनी देखि मंङ्गलाको केन्द्र बाबियाचौर, मालिकाको दरवाङ हुदै धवलागिरीको केन्द्र मुना जोड्ने करिब ५० किलोमिटर दुरीको सडकमा यातायात सेवा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक सुर्य थापाले मालिका गाउँपालिका–६ ढाँडखर्क, बाङ्गेपहिरो, बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेतमा पहिरो खसेर सडक अवरुद्ध भएको बताउनुभयो । पूर्वाधार विकास कार्यालयले अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरेको छ ।
