
बेनी । पर्वतको जलजला गाउँपालिकाका मेलमिलापकर्ताहरुलाई अभिमुखीकरण कार्यक्रम शुक्रबार लामाखेतमा सम्पन्न भएको छ ।
गाउँपालिकाको न्यायिक समितिले आयोजना गरेको कार्यक्रममा न्यायिक समितिका पदाधीकारी, जनप्रतिनिधी र मेलमिलापकर्ताहरुको सहभागिता थियो । कार्यक्रममा जिल्ला अदालत पर्वतका मेलमिलापकर्ता चुडामणी शर्माले न्यायिक समितिको अधिकार, उद्देश्य र न्याय निरुपण बिधीका विषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्नुहुदै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मेलमिलापकर्ताहरु सक्रीय भएमा न्यायिक समिति, अदालत, प्रहरी र प्रशासनमा मुद्दाको चाप घट्ने र नागरिकको समस्या गाउँघरमै समाधान हुने बताउनुभयो । मेलमिलापकर्ताहरुलाई सक्रीय बनाउन अभिमुखीकरण कार्यक्रमले सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुहुदै अध्यक्ष आचार्यले वडाका मेलमिलाप केन्द्रलाई थप ब्यवस्थित बनाउने प्रतिवद्धता जनाउनुभयो ।



जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले दोस्रो कार्यकाल सुरु भएयता ४० भन्दा बढी मुद्दालाई मेलमिलापको माध्यमबाट समाधान गरिएको जानकारी दिनुभयो । उहाँले स्थलगत रुपमै पुगेर पक्ष–विपक्षको कुरा सुन्ने र मेलमिलाप कायम गर्ने अभ्यास गरेको बताउनुभयो । आगामी आर्थिक वर्षमा सबै वडाका मेलमिलाप केन्द्रहरुलाई थप व्यवस्थित गर्न बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।
जलजला गाउँपालिकाका न्यायिक सहजकर्ता जिवन मल्लले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले न्यायिक समिति र मेलमिलाप केन्द्रको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सहजिकरण गर्नुभएको थियो ।
