
बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषा संरक्षणका लागि प्रशिक्षण सञ्चालन भएको छ ।
मगर समुदायको बाहूल्य बसोबास रहेको रघुगङ्गा गाउँपालिका –१ बेग, बादुक र तिप्ल्याङ तथा वडा नंं–५ झिँमा एक महिनासम्म सञ्चालन भएको भाषा प्रशिक्षण शुक्रबार सम्पन्न भएको हो । रघुगङ्गा गाउँपालिकाको सहयोगमा पुनमगर समाज रघुगङ्गा इकाईले भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
पुनमगर समाज रघुगङ्गाकी अध्यक्ष टिका पुर्जा थजालीले भाषा संरक्षण गरि बोलीचालीमा प्रयोगमा ल्याउने उद्देश्यले शिक्षक, जनप्रतिनिधी, राजनीतिकर्मी, युवा क्लव, आमा समूह र अगुवाहरुलाई प्रशिक्षण दिइएको जानकारी दिनुभयो ।

“गाउँपालिकाले रु. पाँच लाख बजेट बिनियोजन गरेको प्रशिक्षणमा ८५ जनालाई सहभागी गराउने लक्ष्य भएपनि दुई सय जना भन्दा बढीले प्रशिक्षण लिनुभयो,” उहाँले भन्नुभयो “हामीले बोलीचाली, साइनो लगाउँदा प्रयोग गर्ने शब्दहरु मगर भाषाकै रहेछन भन्ने प्रशिक्षणमा सहभागी भएपछि थाहा पाइयो ।”
रोल्पाका इर्धाशी झाँत्री मगर, राकेश बुढा मगर, पुर्वी रुकुमका अमृत बुढा मगर र धनप्रताप घर्ति मगर खाम भाषा सिकाउन आउनुभएको थियो । उहाँहरुले खाम भाषाका साथै मगर पहिचान, संस्कार, संस्कृति, भेषभुषा, इतिहाँसको बिषयमा प्रशिक्षण दिनुभएको अध्यक्ष पुर्जाले बताउनुभयो ।


नेपालका मगर खाम, ढुत र काइके भाषा बोल्छन् । म्याग्दी लगायत १८ मगराँत क्षेत्रमा बसोबास गर्ने मगर समुदायको भाषा खाम हो । मगर खाम भाषाको शब्दको पछाडी बाङ आउँछ । म्याग्दीमा धेरै बस्तिको नामको शब्दको पछाडी बाङ छ ।
नेपाल पुनमगर समाज म्याग्दीका सचिव साजन पुनमगरले बाइसे चौबीसे राज्यका पालामा तत्कालीन राज्य सञ्चालकहरुले मगर खाम भाषा बोल्न प्रतिबन्ध लगाएका कारण लोप हुदै गएको बताउनुभयो ।
“मल्लकालमा राज्य सञ्चालकले हाम्रो मगर भाषा नबुझेपछि बोल्ने प्रतिबन्ध लगाउने, जरिवाना तिराउने र जिब्रोनै काटिदिएका कारण लोप हुने अवस्थामा पुगेको हो,” उहाँले भन्नुभयो “अहिलेको ब्यवस्थामा सहज वातावरण भएपछि हामी मगर समुदाय मौलिक भाषा संरक्षणमा जुटेका हौ ।”
भाषा प्रशिक्षण कार्यक्रममा रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले मगर समुदायको बाहूल्य बसोबास भएका विद्यालयमा मगर भाषाको स्थानीय पुस्तक पठनपाठनको ब्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभयो । प्रशिक्षण पाएपछि दैनिक बोलीचालीमा मगर खाम भाषा प्रयोग गर्ने सहभागीहरुले बताएका छन् ।
