
बेनी, । म्याग्दीका छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. तीन अर्ब १९ करोडको बजेट ल्याएका छन् ।
बेनी नगरपालिका र पाँच गाउँपालिकाले निर्धारित समय असार १० गतेभित्रनै नीति तथा कार्यक्रम र बजेट पारित गरेका हुन् । पूर्वाधार निर्माण, सामाजिक विकास, कृषि, पशुपालन र रोजगार सिर्जनालाई प्राथमिकता दिएका म्याग्दीका स्थानीय तहहरुले चालु आर्थिक वर्षमा खर्च हुन बाँकी रहने रकम, सानो आकारको आन्तरिक आम्दानीमा सङ्घ र प्रदेशबाट आउने अनुदानलाई जोडेर बजेट सार्वजनिक गरेका छन ।
बेनी नगरपालिकाले रु. ७१ करोड ८० लाख २७ हजारको बजेट पारित गरेको छ । मङ्गलबार सदरमुकाम बेनीमा सम्पन्न १७औँ नगरसभामा मेयर सुरत केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख ज्योति लामिछानेले पेस गरेको बजेट छलफलसहित पारित भएको हो । सभामा लामिछानेले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार रुपैयाँ र पुँजीगततर्फ १६ करोड ८६ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाले कूल ६० करोड ७६ लाख २ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । २१औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले आउँदो वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि चालुतर्फ ३७ करोड ५३ लाख १२ हजार ४३५ रुपैयाँ र पुँजीगततर्फ २३ करोड २२ लाख ९० हजार ३५८ रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

यस्तै धौलागिरि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ४६ करोड ५६ लाख ६ हजार ५६३ को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २४ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट छलफलपछि सर्वसहमतिमा पारित भएको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च हुननसक्ने अनुमानित २ करोड रुपैयाँ र ४५ लाख रुपैयाँ आन्तरिक आम्दानीबाहेक सङ्घीय तथा प्रदेश सरकारले विभिन्न शीर्षकमा उपलब्ध गराउने अनुदानलाई स्रोत मानेर बजेट पारित गरेको हो ।
त्यसैगरी मङ्गला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ६१ लाख ५६ हजार ४५१ रुपैयाँ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाले चालु खर्चतर्फ ३१ करोड ३३ लाख २० हजार ४५१ रुपैयाँ र पुँजीगततर्फ १३ करोड २७ लाख ३६ हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिनुभयो ।
यस्तै मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट पारित गरेको छ । गाउँसभाको १७औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार रुपैयाँ र पुँजीगततर्फ १३ करोड ७ लाख १९ हजार रुपैयाँ बजेट विनियोजन भएको जानकारी गराउनुभएको थियो ।
त्यस्तै रघुगङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख रुपैयाँ बढीको बजेट पारित गरेको छ । गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गरेको ५० करोड ११ लाख ४० हजार ८२० रुपैयाँ बराबरको बजेटमाथि छलफल गरी सर्वसम्मत रुपमा पारित भएको हो । गाउँपालिकाले चालुतर्फ ३७ करोड ६७ लाख ६० हजार ८२० रुपैयाँ र पुँजीगततर्फ १२ करोड ४३ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
