
लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले शिक्षा, कृषि, खेलकुद, स्वास्थ्य र पूर्वाधारका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. ५९ करोड ५४ लाखको बजेट पारित गरेको छ ।
लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार भएको गाउँसभामा अध्यक्ष राजुप्रसाद आचार्यको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट, योजना तथा कार्यक्रम पारित भएको हो ।
संघीय र प्रदेश सरकारले विभिन्न शिर्षकमा उपलब्ध गराउने अनुदान बाहेक रु. नौ करोड ८३ लाख ३६ हजार आन्तरिक आम्दानीलाई स्रोत मानिएको उपाध्यक्ष आचार्यले बताउनुभयो । उहाँका अनुसार चालुतर्फ रु. ३६ करोड ५६ लाख २२ हजार र पुजिगत तर्फ रु. २२ करोड ९७ लाख ७८ हजार बिनियोजन भएको छ ।


शर्शत, समपुरक र विशेष अनुदानका कार्यक्रम तर्फ रु. ३० करोड ५२ लाख र दायित्व तथा साझेदारीका कार्यक्रमका लागि रु. चार करोड २५ लाख रहेको छ । कार्यालय सञ्चालनमा रु. १० करोड, शाखागत योजना तथा कार्यक्रमलाई रु. १० करोड २७ लाख र वडा स्तरीयलाई रु. चार करोड ५० लाख बिनियोजन भएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षको जेठ मसान्त सम्म चालुतर्फ ७२ दशमलव ६९ प्रतिशत र पुँजीगत तर्फ ५२ दशमलव ९९ प्रतिशत गरी औषत ६७ दशमलव ३७ प्रतिशत प्रगति भएको छ ।
आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, धार्मिक क्षेत्र, रोजगार, पुर्वाधार, उद्यम, खेलकुद, आयआर्जन, विपद् व्यवस्थापन लगायत क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

स्मार्ट विद्यालय कार्यक्रम मार्फत सामुदायिक विद्यालयमा सूचना र प्रबिधिको प्रयोग मार्फत पठनपाठन गराउन रु. दुई करोड ७० लाख बिनियोजन भएको छ । एकिकृत परिक्षा प्रणाली र लिडर विद्यालयको नीति लिएको जलजलाले विद्यार्थीको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्न अध्यक्षसँग विद्यार्थी कार्यक्रम चलाउने भएको छ ।
डमुवाखोलामा यस वर्ष निर्माण हुने चिस्यानगृहलाई आगामी वर्षदेखि प्रयोगमा ल्याउने, आलु विउमा आत्मनिर्भर बनाउने, बाँसखर्कमा सुन्तला महोत्सवलाई निरन्तरता दिने लगायत कृषि सम्बन्धी कार्यक्रमलाई रु. एक करोड २२ लाख बिनियोजन भएको अध्यक्ष आचार्यले बताउनुभयो ।

३० जना उद्यमीहरुलाई रु. एक÷एक लाखका दरले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन बजेट बिनियोजन गरेको छ । मल्लाजमा निर्माण भएको भवनमा अस्पताल सञ्चालन गर्ने, संघीय सरकारसँग समन्वय गरेर वडा नं–७, ८ र ९ मा स्वास्थ्य चौकीको भवन निर्माण गरिने भएको छ । साझेदारीका लागि रु. ३८ लाख बिनियोजन भएको छ ।
कालञ्जर क्षेत्रमा राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री लगायत देशको उच्च पदमा रहेका व्यक्तिहरुको भ्रमण गराउने कार्यक्रम बनाएको जलजलाले कृषि उपजको बजार सुनिश्चितता गर्ने घोषणा गरेको छ ।
स्थानीय जातका हलगोरु पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको छ । संघीय सरकारसँग साझेदारी गरेर धार्मिक महत्वको कालीगण्डकी नदी किनारमा रहेका १८ वटा शवदाह स्थललाई ब्यवस्थित गरिने अध्यक्ष आचार्यले बताउनुभयो ।
शालीजामा रु. दुई करोड लगानीमा इनडोर खेल्न मिल्ने कवर्डहल बनाउने भएको छ । यो योजनालाई प्रदेश सरकारले रु. ६० लाख बजेट पठाएको छ । प्रदेश सरकारले सञ्चालन गरेको नाफा परियोजनालाई सहयोग पुग्ने गरि फुलफुल खेती प्रर्वद्धन कार्यक्रम गर्ने अध्यक्ष आचार्यले बताउनुभयो । सभामा सदस्यहरु लोकबहादुर पुन, विकाश भण्डारी, टकबहादुर पुर्जा लगायतले छलफलमा भाग लिनुभएको थियो ।
