पूर्वाधार, पर्यटन र कृषिमा बेनी नगरपालिकाको प्राथमिकता

Shreekrishna hardware

बेनी, । पूर्वाधार, पर्यटन र कृषि क्षेत्रमा प्राथमिकता दिदै म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. ७१ करोड ८० लाख २७ हजार को बजेट ल्याएको छ ।

बेनीमा मंगलबार भएको सत्रौ नगरसभामा प्रमुख सुरत केसीको नीति तथा कार्यक्रम र उपप्रमुख ज्योति लामीछानेले प्रस्तुत गरेको आगामी वर्षको योजना तथा कार्यक्रम र बजेट पारित भएको हो ।

चालु आर्थिक वर्षमा रु. ७४ करोड ७४ करोड ७० लाख ९८ हजार को बजेट रहेको नगरपालिकाको आगामी बर्षको बजेट करिब रु. तीन करोडले घटेको हो । वार्षिक रु. चार करोड हाराहारीमा आन्तरिक आम्दानी गर्दै आएको नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने अनुदानसँगै बजेटको आकार पनि घटेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

Shreekrishna

चालु आर्थिक वर्षको ११ महिनामा रु. चार करोड तीन लाख ६२ हजार आन्तरिक आम्दानी गरेको नगरपालिकाले आगामी वर्षको अनुमानित रु. चार करोड ३३ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

संघीय र प्रदेश सरकारको विभिन्न शिर्षकको अनुदान, आन्तरिक राजस्व र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने बजेटलाई आधार मानेर आगामी वर्षको बजेट तयार पारिएको नगर उपप्रमुख लामीछानेले बताउनुभयो ।

पूर्वाधारमा १४ करोड

पुजिगत तर्फ रु. १६ करोड ८६ लाख ९७ हजार बजेट बिनियोजन गरेको नगरपालिकाले सबैभन्दा बढी पूर्वाधार विकास शिर्षकमा रु. १४ करोड सात हजार छुट्टाएको छ ।

बेनी नगरपालिकाको ६० र संघीय सरकारको ४० प्रतिशत लागत साझेदारी रहने बेनी–पुलाचौर–टोड्के सडक स्तरोन्नति योजनाका लागि रु. एक करोड ६२ लाख ५० हजार बिनियोजन भएको छ । यो आगामी आर्थिक वर्षमा बेनी नगरपालिकाको सबैभन्दा धेरै बजेट भएको योजना हो ।

बेनी नगरपालिकाको ६० र गण्डकी प्रदेश सरकारको ४० प्रतिशत लागत साझेदारीमा कार्यान्वयन हुने बेनी–महारानीथान–छापा–ठूलोखोला सडकका लागि रु. एक करोड ५० लाख बिनियोजन भएको छ ।

बेनी र वडाको केन्द्रसम्म बाह्ै महिना नियमित यातायात सञ्चालनको ब्यवस्था मिलाउने नीति लिएको नगरपालिकाले बर्खा याममा सडक मर्मतका लागि रु. ३७ लाख बिनियोजन गरेको नगर प्रमुख सुरत केसीले बताउनुभयो । १० वटा वडा कार्यालयले सिफारिस गरेका योजनाहरुको लागि रु. छ करोड १० लाख बिनियोजन भएको छ ।

बृहत घोप्टेखोला खानेपानी आयोजना सञ्चालन गर्न रु. ४३ लाख, पुलाचौर–पुरुण्डी–नेपाने खानेपानी योजनालाई रु. ४३ लाख बिनियोजन भएको छ । नगरस्तरीय तथा वडा स्तरीय सिचाईका कार्यक्रमका लागि रु. २० लाख र बास्कुना र मरेक क्षेत्रको सुन्तला खेती प्रर्वद्धनका लागि प्रदेश सरकारसँगको समन्वयमा कार्यान्वयन हुने गरि रु. ४० लाख बिनियोजन भएको छ ।
वडा पर्यटन परियोजना

पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रर्वद्धनलाई जोड दिन “वडा पर्यटन परियोजना”को नीति लिएको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षमा पर्यटन प्रर्वद्धन शिर्षकमा रु. एक करोड चार लाख बजेट बिनियोजन गरेको उपप्रमुख लामिछानेले बताउनुभयो ।

गलेश्वर क्षेत्रको सौन्दर्यता वृद्धि गरी गलेश्वरधामलाई उत्कृष्ट धार्मिक क्षेत्रका रुपमा विकास गर्न ढुङ्गा बिछ्याउने र हरियाली प्रर्वद्धन कार्यका लागि रु. ३० लाख बिनियोजन गरेको छ । गलेश्वर क्षेत्र विकास कोष लगायतका स्थानीय संघ संस्थासँगको साझेदारीमा शुरु भएको गलेश्वर सौन्दर्यकरण योजनाले आगामी वर्षमा पनि निरन्तरता पाएको हो ।

बेनी नगरपालिका–७ मा शान्ति पार्क र लभ्लिहिल पर्यटन प्रर्वद्धनका लागि रु. २५÷२५ लाख बजेट बिनियोजन भएको छ । निर्माणको अन्तिम चरणमा रहेको बेनी नगरपालिका–५ को रावण पार्कको प्रचारप्रसार गर्ने र त्यहाँ पुग्ने सडक स्तरोन्नति गर्ने नीति लिएको नगर प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार १० वटै वडाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका साथै प्रर्वद्धनका लागि कार्यक्रम रहेका छन् ।

किसानलाई उत्पादनमा आधारित अनुदान

दूध, मासु र तरकारीमा आन्तनिर्भर बनाउने नीति लिएको बेनी नगरपालिकाले पशुपालक किसानलाई दिदै आएको उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

गाईभैसी र बाख्रापालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिनका लागि रु. १० लाख र मागमा आधारित फलफूल बगैचा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न रु. पाँच लाख ५० हजार बिनियोजन गरेको छ ।

कृषि उपजको उचित मुल्य र बजार पहुँचको लागि कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालनका लागि बेनी नगरपालिका–८ कालीपुलमा कृषि उपज संकलन केन्द्र निर्माणलाई निरन्तरता दिएको छ ।

Ban devision notice

गत वर्ष रु. १५ लाख र यस वर्ष रु. ३० लाख बजेट रहेको कृषि उपजको संकलन केन्द्रको भवन निर्माण योजनाका लागि आगामी वर्ष रु. ६० लाख बिनियोजन भएको छ । संघीय शसर्त बाहेक कृषि सम्बन्धी कार्यक्रमका लागि रु. ४२ लाख ५० हजार बिनियोजन भएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो ।

पशु उत्पादनमा वृद्धि गर्न पशुपक्षीपालन व्यवसाय प्रर्वद्धन र सम्बद्र्धनका लागि पशु नश्ल सुधार, आहार व्यवस्थापन, उत्पादनमा आधारित अनुदान र पशु स्वास्थ्य शिविर सञ्चालन सहितका कार्यक्रमका लागि रु. ४० लाख बजेट बिनियोजन भएको छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक समावेशीकरणका कार्यक्रम

सामाजिक विकास क्षेत्रमा रु. ४१ करोड ६८ लाख २० हजार बजेट बिनियोजन भएको बेनी नगरपालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक समावेशीकरणसँग सम्बन्धीत विगतका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

विद्यालयमा कृषि कार्यक्रमलाई निरन्तरता दिएको नगरपालिकाले आगामी वर्ष वी क्यान उई डु कार्यक्रमका लागि रु. १६ लाख, गरिब महिला, दलित, अल्पसंख्यकलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन रु. पाँच लाख बिनियोजन गरेको छ ।

कक्षा ७ सम्मको पाठ्यपुस्तक तयार पारेको नगरपालिकाले स्थानीय पुस्तक लेखन र छपाई गर्न रु. २२ लाख, मेयरसँग सामाजिक विकास र युवा÷विद्यार्थीसँग मेयर कार्यक्रमका लागि रु. १५ लाख बिनियोजन गरेको छ ।

नगरस्तरीय खेलमैदानको रुपमा रहेको बेनी रङ्गशाला (खुल्ला मञ्च) र भलिबल टे«निङ सेन्टरलाई रु. ३५ लाख, राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्न रु. १२ लाख सहित शिक्षा तथा खेलकुद क्षेत्रमा शसर्त कार्यक्रम बाहेक रु. दुई करोड ३० लाख ७५ हजार बिनियोजन भएको नगर उपप्रमुख लामिछानेले जानकारी गराउनुभयो ।

“जेष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी” तथा नसर्ने रोगको निःशूल्क परीक्षण कार्यक्रमलाई निरन्तरता दिन रु. १४ लाख सहित शसर्त अनुदान बाहेक स्वास्थ्यका नगरस्तरीय कार्यक्रमलाई रु. ४५ लाख र वडा स्तरीय कार्यक्रमको लागि रु. २७ लाख ५० हजार बिनियोजन भएको छ ।

आगामी वर्ष वडा नं. ७ मा पनि स्वास्थ्य संस्था सञ्चालन गर्ने नीति रहेको नगर प्रमुख केसीले बताउनुभयो । महिला तथा आमा समूहको क्षमता विकास, आर्थिक शसक्तिकरण र उद्यमशिलता प्रर्वद्धनका लागि आमा समूहसँग उपमेयर कार्यक्रमका लागि रु. २० लाख सहित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका नगर स्तरीय कार्यक्रमलाई रु. ६९ लाख ५० हजार बिनियोजन भएको छ ।

बेनी बजारको समिपमा रहेको कालीगण्डकी नदीको तटमा श्रद्धालु भक्तजनहरुको लागि आधुनिक स्नान स्थल र आरति स्थल निर्माण कार्यलाई पुर्णता दिने र देवशिला उत्खनन् स्थलमा स्मारक बनाउन संघीय सरकारसँग पहल गरिएको छ ।

चालु आर्थिक वर्षको ६२ प्रतिशत बजेट खर्च


बेनी नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म ६२ दशमलब ६३ प्रतिशत बजेट खर्च गरेको नगरसभामा उपप्रमुख लामिछाने जानकारी गराउनुभयो ।

कुल ७४ करोड ७० लाख ९८ हजार बजेट रहेको नगरपालिकाले ११ महिनाको अवधीमा रु. ४४ करोड ७९ लाख ६२ हजार खर्च भएको छ ।

चालुतर्फ रु. ३५ करोड २७ लाख चार र पुजिगततर्फ रु. ११ करोड ५२ लाख ५८ हजार अथवा ५४ दशमलब ६३ प्रतिशत खर्च भएको छ । चालुतर्फ रु. ५४ करोड ५४ लाख ७२ हजार र पुजिगत तर्फ रु. १८ करोड ७७ लाख ६० हजार बिनियोजन भएको थियो ।

चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने रु. दुई करोड १५ लाख ६७ हजार पाँच सय ९२ लाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको छ । चालु आर्थिक वर्षमा रु. छ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य रहेकोमा रु. तीन करोड एक लाख २८ हजार राजस्व संकलन भएको छ ।

अंग्रेजी भाषामा गरिने सिफारिस दस्तुर घट्यो


बेनी नगरपालिकाले अंग्रेजी भाषामा गरिने सिफारिस दस्तुरको दर घटाएको छ । १७ औ नगरसभामा वडा नं–७ का वडा सदस्य विश्वास श्रेष्ठले अंग्रेजी भाषामा गरिने सिफारिस दस्तुर घटाउन प्रस्ताव गर्नुभएको थियो ।

सभाले प्रस्ताव पारित गरेपछि हाल रु. एक हजार रहेको अंग्रेजी भाषामा गरिने सिफारिस दस्तुर आगामी आर्थिक वर्षदेखि रु. पाँच सय कायम भएको नगरसभा सदस्य श्रेष्ठले बताउनुभयो ।

विदेशको प्रयोजनका लागि अंग्रेजी सिफारिस शूल्क महँगो भएको विषय रोजगारीको शिलशिलामा विदेश जाने नगरबासीहरुको गुनासो नगरसभामा प्रस्तुत गरेको र त्यसको सम्बोधन भएको श्रेष्ठले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...