
बेनी, । बेनी नगरपालिकाले कक्षा ५ का विद्यार्थीको सिकाई उपलब्धी मापन गर्न सञ्चालन गरेको परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गत चैत १२ गते नगरपालिकाको ३७ सामुदायिक र आठ वटा संस्थागत विद्यालयका कक्षा ५ मा अध्ययन गर्ने सात सय ५० जना विद्यार्थीहरुलाई १० वटा केन्द्रमा राखेर परिक्षा सञ्चालन गरेको थियो ।
नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले आधारभूत तहका विद्यालय विद्यार्थीको सिकाई उपलब्धीको अवस्था, समस्या पहिचान गरि समाधानका लागि पहल गर्न परिक्षा सञ्चालन गरिएको बताउनुभयो ।

“नगरपालिकाले प्रश्नपत्र तयार पारेर एकै दिन परिक्षा सञ्चालन गरि नगरपालिकामै उत्तरपुस्तिका परिक्षण गरेका हौ,” उहाँले भन्नुभयो “नतिजाको आधारमा सम्बन्धित विद्यालयहरुलाई सुधारको कार्ययोजना बनाएर कार्यान्वयन गर्न लगाउछौ ।”
विद्यालय शिक्षाको आधार १–५ तहमा विद्यार्थीको सिकाई उपलब्धीलाई राम्रो बनाउन सकेमा माथिल्लो तहमा पनि राम्रो हुने अवधारणा सहित कक्षा ५ को उपलब्धी मापन परिक्षा गरिएको उपसचिव भण्डारीले बताउनुभयो ।

परिक्षाको नतिजाले कुन विद्यालयका कुन विद्यार्थीको सिकाई उपलब्धी कस्तो छ र कुन विषयमा कमजोर छन भन्ने सम्मको समस्या पहिचान भएको उहाँले बताउनुभयो । अंग्रेजी, गणित, नेपाली, विज्ञान र सामाजिक विषयको परिक्षा भएको थियो ।
उपलब्धी मापन परिक्षाको नतिजा अनुसार सामुदायिकतर्फ बेनपा–५ बगुवाखोलाको बालजागृति आधारभूतका विद्यार्थीको औसत सिकाई उपलब्धी ६५.७ प्रतिशत छ । यहाँका १० जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए ।
४ जना सहभागी भएको डिम्ब आधारभूतको ५७.२५, ५ जना सहभागी भएको ज्ञानपुञ्ज आधारभूतको ५४.९ र ४ जना सहभागी भएको पौलत्स्य माविको ५३.५ प्रतिशत औसत सिकाई उपलब्धी छ ।
संस्थागत तर्फ ८ जना रहेको तातोपानी बोडिङ स्कुलको ७०.२, एक सय २४ जना भएको न्यु वेष्ट पोइन्ट आवासीय माविको ५८.३ र १८ जना भएको गलेश्वर आदर्श आवासीय माविको ५६.३ प्रतिशत औसत सिकाई उपलब्धी रहेको शिक्षा शाखाका प्राविधिक सहायक गिता नेपालले बताउनुभयो ।
१ जना रहेको हंशबाहिनी आधारभूत खबराका विद्यार्थीको सबैभन्दा कम ११ प्रतिशत सिकाई उपलब्धी छ । ३ जना रहेको पद्यमबराह आधारभूतका विद्यार्थीको २१.८ र १३ जना भएको जामुनाखर्कको २२.७ प्रतिशत सिकाई उपलब्धी छ ।
समग्रमा न्यु वेष्ट पोइन्टका संस्कृति पौडेलले ९७ प्रतिशत, माउन्ट एभरेष्टका मन्जिल जिसीले ९३ र वेष्ट पोइन्टका सुस्मिता थापाले ८९ प्रतिशत अंक ल्याएका छन् । सामुदायिक तर्फ बेनी सामुदायिक माविका सुलोचन सुवेदीले ८१.५, गलेश्वर माविका रिदम केसीले ८०.५ र बालजागृति आधारभूतका विपिसा बानियाले ८० प्रतिशत ल्याएका छन् ।
