
भुरुङ्ग–तातोपानी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीको किनारमा रहेका प्राकृतिक तातोपानीका मुहानहरु जलविद्युत आयोजनाहरुका कारण संकटमा परेका छन् ।
कालीगण्डकी नदीमा निर्माण सुरु भएको र निर्माण हुन लागेका जलविद्युत आयोजनाको सुरुङबाट पानी बग्ने भएपछि किनारमा रहेका तातोपानीको मुहान सुक्ने, आर्थिक, सामाजिक, वातावरणीय हिसाबले असर पुग्ने स्थानीयबासीले चिन्ता गरेका हुन् ।
अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा बुधबार आयोजना भएको ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले तातोपानीको मुहानमा असर नपुग्ने गरेर आयोजना बनाउन सुझाएका छन् ।


भुरुङ्ग तातोपानीका अनिल हिराचनले विगतमा खोला गहिरिदा, धार परिवर्तन हुँदा र थुनिदाको असर तातोपानीको मुहानमा देखिएको अनुभव सुनाउदै कालीगण्डकीको पानी सुरुङमा हालेपछि पर्यटकीय स्थल तातोपानीको भविष्य संकटमा पर्ने बताउनुभयो ।
अर्का स्थानीयबासी आत्मा तुलाचन, अमृतमान शेरचनले अन्य आयोजनाहरुको सुरुङ निर्माणका क्रममा जमिनमा हुने कम्पनका कारण प्रभावित क्षेत्रका पानीका मुहानहरु सुक्ने समस्या देखिएको बताउदै तातोपानीको मुहानमा असर पर्ने सुनिश्चितता गरेर मात्र जलविद्युत आयोजना बनाउन आग्रह गर्नुभयो ।
अन्नपूर्ण गाउँपालिका–३ र–४ को सिमाना सुकेबगरमा बाँध, चार किलोमिटर तीन सय १९ मिटर सुरुङ र वडा न –२ को सुकेबगरमा भूमिगत विद्युतगृह प्रस्ताव गरिएको आयोजनाबाट अन्नपूर्णको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित हुनेछ् । आयोजना प्रभावित क्षेत्रमा भुरुङ्ग र पाउद्धार तातोपानीको कुण्ड रहेका छन् ।

बेनी–जोमसोम सडक, अन्नपूूर्ण चक्रीय पदयात्रा र मुुस्ताङ भ्रमणमा जाने पाहुनाहरुले स्नान गरेर थकान मेटाउने र विभिन्न रोगहरुको उपचारका लागि स्नान गर्ने तातोपानी कुण्ड गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोत र स्थानीय होटल ब्यवसायीहरुको आयआर्जनको माध्यम हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वका आइएमइ ग्रुपको अगुवाइमा हाइड्रो सपोर्ट प्रा.लीले यसअघि ५३ दशमलब ५३ मेगावाट प्रस्ताव गरिएको आयोजनाको क्षमता बढाएर ६६ दशमलब तीन मेगावाट बनाउन पुरक वातावरणीय मूल्याङ्कन गर्न लागिएको हो ।
स्थानीय जनप्रतिनिधी र बासिन्दा तथा अगुवाहरुले तातोपानी कुण्डलाई असर नपुग्ने वैज्ञानिक आधार नभएसम्म आयोजना अघि नबढाउन आग्रह गर्दै जलविद्युत आयोजनाका कारण असर पुगेमा त्यसको जिम्मेवारी आयोजनाले लिनुपर्ने अडान राखेका छन् ।
अन्नपूर्ण गाउँपालिका–३ फगामका सुरत केसी र दुर्गादत्त सुवेदी, वडा नं–२ ठूलोबगरका बिष्णु परियार र लोकबहादुर पुर्जाले आयोजनाका कारण उत्पन्न हुने विपद्को जिम्मेवार आयोजनानै हुनुपर्ने बताउनुभयो । भुरुङ्ग–तातोपानीका अमृतमान शेरचनले कालीगण्डकीको सभ्यता र संस्कृतिलाई बचाउनुपर्ने बताउनुभयो ।
हाइड्रो सपोर्टका अध्यक्ष चन्द्र ढकालले तातोपानी कुण्ड र स्थानीय जनजिवनमा असर पनि नपर्ने र आयोजना पनि बन्ने बातावरण बनाउन आग्रह गर्नुभयो । आयोजनाको तर्फबाट तातोपानीको मुहान बचाउने प्रतिवद्धता जनाउनुभयो ।
वातावरणीय असर न्युनीकरण र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत रु. नौ करोड ७० लाख २४ हजार बिनियोजन गरेको कार्यक्रममा जानकारी गराइएको थियो । कुल रु. १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार सात सय ३० लागत अनुमान गरिएको आयोजनाको ०.७५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने प्रस्ताव गरिएको छ । सुकेबगरमा बाँध र नागढुङ्गामा अडिट सुरुङ निर्माण शुरु गर्न संरचनाहरु तयार पारिएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले आयोजनाको सामाजिक उत्तरदायित्वको बजेट खर्च गर्ने प्रस्तावित बिधी लगायतका विषयमा चार बुदे असहमति पेश गर्नुभएको थियो ।
यसअघि १४ मेगावाट क्षमताको मिस्त्रीखोला क्यासकेट जलविद्युत आयोजनाका कारण पाउद्धार तातोपानी कुण्ड संकटमा पर्ने भन्दै स्थानीयबासीले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सर्वोच्चले स्थानीयबासीको पक्षमा फैसला गरेपछि उक्त आयोजना निर्माण प्रक्रीया रोकिएको छ ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, वडा अध्यक्षहरु ओम फगामी, रमेश पुर्जा, रामबहादुर खड्का, गाउँपालिकाका पुर्व अध्यक्ष डमबहादुर पुन लगायत सहभागी हुनुहुन्थ्यो ।
