
बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर माविका विद्यार्थीहरुका लागि पलम्बीङ तालिम सञ्चालन भएको छ ।
बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाउन तालिम सञ्चालन भएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने १६ जना विद्यार्थीहरुलाई उनिहरुको रुची अनुसार २१ दिने पलम्बीङ तालिम सञ्चालन गरेको बालमन्दिर माविका प्रअ सुरेन्द्रप्रसाद केसीले बताउनुभयो ।
जेठ १८ गतेदेखि शुरु भएको तालिममा विद्यार्थीहरुलाई बेनीका रामबहादुर हमालले पलम्बीङ सम्बन्धी सिप सिकाइरहनु भएको छ । दिउँसो ४ बजे विद्यालयको नियमित कक्षाको पठनपाठन सकिएपछि दुई घण्टाका दरले तालिम सञ्चालन भएको छ । खानेपानीको पाइपलाइन तान्ने, जमिनमा गाड्ने, जोड्ने, धारा, भान्छाकोठा, शौचालय, शयनकक्षमा धारा जडान गर्ने विषयमा व्यवहारिक तालिम प्रदान गरिएको छ ।

बेनी नगरपालिकाले उपलब्ध गराएको रु. एक लाख बजेटबाट पाइप र धारा फिटिङका सामग्री खरिद, प्रशिक्षकको भत्ता र सहभागीलाई खाजाको ब्यवस्था मिलाइएको प्रअ केसीले बताउनुभयो । तालिममा सहभागी कक्षा ९ का छात्र आस्वीन किसानले घर, समाजमा आवश्यक पर्दा योगदान गर्न र भविश्यमा स्वरोजगार बन्नका लागि सिपले सहज बनाउने बताउनुभयो ।

बालमन्दिरका विद्यार्थीलाई यसअघिको दुई वर्ष वायरिङ सम्बन्धी तालिम दिइएको थियो । तालिम लिएका जितेन पुर्जा र रुपेश बिकले विद्यालयको भवनमा आफै वायरिङ गरेका थिए ।

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सिप सिकाएर विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई चालु आर्थिक वर्ष २०८१÷०८२ मा हामी सक्छौ, हामी गर्छौ कार्यक्रमका लागि रु. एक÷एक लाखका दरले रु. १६ लाख बजेट बिनियोजन गरेको छ ।
बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब पाँच सय जना विद्यार्थीहरू सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ ।
