
बेनी, ः २७ वर्षअघि ट्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ ।
बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा नं.–२ भकुण्डे हुदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सबबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो ।
सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किलोमिटर कालोपत्र गर्न थालिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो ।

एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाईका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिने कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । आइतबार र सोमबार उपल्लाचौरको नयाँपानी देखि अर्जम जोरतिपिपल सम्म नौ सय मिटर एकतर्फि पहिलो कोट राखिएको छ ।

दुईतर्फी कोट राखेपछि दोस्रो चरणमा पनि कोट राख्ने गरिन्छ । वि.स. ०५६ मा ट्याक खोलिएको यो सडक बेनी नगरपालिका– १, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् । उक्त योजना निर्माण गर्न वि.स. २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु. २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ । यसअघि एक घण्टाको यात्राअवधी हाल २० मिनेटमा छोटिएको बेनी नगरपालिका–१ का वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । ट्याक खुलेको २७ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयबासी उत्साही भएका उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. तीन करोड ६० लाख बजेट खर्च भइसकेको छ । योजनाका लागि थप बजेट व्यवस्थापन गर्न सडक डिभिजनले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयमा प्रस्ताव गरेको छ । आगामी वर्षका लागि रु. तीन करोड बिनियोजन भएको छ । यो बजेट पर्याप्त नभएको डिभिजनले जनाएको छ ।
संघीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न आर्थिक वर्ष २०७७÷०७८ मा रु. ४०–४० करोड विनियोजन गरेको थियो । अघिल्लो कार्यकालका प्रतिनिधीसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा यो आयोजना छनौट भएको थियो ।

संघीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।
सडकको सोमबार जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमार खत्री सहितको टोलीले अनुगमन गरेको छ । सडक निर्माणलाई गुणस्तरीय बनाउन सम्बन्धित आयोजनाका प्रमुख र स्थानीय जनप्रतिनिधी तथा प्राविधिक सहितको टोलीले अनुगमन गरेको उहाँले बताउनुभयो ।
यसअघि गत बैशाखमा जिससले अनुगमन गरेर अर्जम क्षेत्रमा सबबेस र बेस बिछ्याउने क्रममा निर्माण कम्पनीले गरेको कमजोरी सुधार गर्न लगाएको थियो । रत्नेचौर–भकुण्डेका साथै सडक डिभिजन मार्फत मर्मतको क्रममा रहेको बागलुङ–बेनी सडकको पनि अनुगमन गरिएको छ ।
भसभसेको पहिरो क्षेत्रमा भइरहेको कामको दिगोपनामा प्रश्न उठेपछि जिससले चासो देखाएको हो । सडक डिभिजनका प्राविधिकहरुले भसभसेमा परिक्षणका लागि नयाँ प्रबिधिको प्रयोग गरेर सडक मर्मत गरिएको बताएका छन् ।
