
खोप्रा ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको पर्यटकीय स्थल खोप्रा लेक (खोपारा)मा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालय निर्माण भएको छ ।
खोप्रा घुम्न आउने पर्यटकहरुको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालय निर्माण र खानेपानी ब्यवस्थापन भएको हो । गण्डकी प्रदेश सरकारको रु. २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले उपभोक्ता समिति मार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरेको कार्यालय प्रमुख अमृत कडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब एक सय ५० जना क्षमताको आश्रयस्थल, दुई वटा सार्वजनिक शौचालय र खोप्रा देखि बयलीतर्फ जाने भिरमा पाँच सय मिटर पदमार्ग निर्माण भएको छ । ढुङ्गा पनि बिछ्याइएको ६० मिटर पदमार्गको डिलतर्फ फलामको रेलिङ राखिएको छ ।



गत वर्ष जडान गरिएको एक हजार आठ सय मिटर पाइपलाई जमिनभित्र गाडिएको छ । यसअघि निर्माण भएको सामुदायिक लजको भवनमा रंगरोगन र भल तर्काउने कुलेसो निर्माण भएको छ । समुन्द्रि सतहदेखि तीन हजार छ सय मिटर उचाईमा रहेको खोप्रामा योजना सञ्चालन गर्न पाउद्धार गाउँका मजदुरहरु ४५ दिनसम्म त्यही बास बसेका थिए ।
गाउँदेखि आवत जावत गर्न टाढा भएकाले २८ जनाले सम्बन्धित ठाउँमै बास बसेर साँझ बिहानको समयमा पनि काम गरिएको उपभोक्ता समितिका अध्यक्ष हरि प्रसाद तिलिजाले बताउनुभयो । गत वर्षपनि प्रदेश सरकारको रु. १२ लाखको बजेटबाट खोप्रामा पर्यटन पूर्वाधार निर्माण भएको थियो ।
स्थानीयबासीले खोपारा भन्ने यस स्थान पर्यटन क्षेत्रमा खोप्राको नामले चिनिएको छ । सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाई र यात्राअवधी लम्बाउन खोप्रालाई वैकल्पिक गन्तब्य बनाइएको छ । खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयापभित्र) पर्छ । गुराँसको जंगलको बिचमा पहाडको टाकुरामा भिरालो भुगोलमा अवस्थित खोपारा जैविक विबिधतायुक्त ठाउँ हो ।
अन्नपूर्ण, धौलागिरी, निलगिरी, गुर्जा हिमाल, सुर्योदय, सुर्यास्त, पहाडी भूगोल, वनजंगल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृष्य अवलोकन गर्न सकिन्छ । पर्यटक आगमन बढेपछि खोपारामा पर्यटन सहकारी संस्थाले सञ्चालन गरेको सामुदायिक लजको क्षमता वृद्धि गर्न आश्रयस्थलको नयाँ भवन निर्माण गरिएको अन्नपूूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष राजेश तिलिजा पुनले बताउनुभयो ।
