
बेनी, । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्याक जोडिएको छ ।
काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो । चालु आर्थिक वर्षमा संघीय सरकारले बिनियोजन गरेको रु. पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले म्याग्दीको धवलागिरी गाउँपालिका–२ मरेनी देखि देखि ढोरपाटन जोड्ने सडकको मार्ग खोल्ने योजना सञ्चालन गरेको छ ।
योजना मार्फत मरेनीमाथिको जंगलदेखि जलजलातर्फ करिब नौ किलोमिटर सडकको ट्याक निर्माण भएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयोे । डोजर जलजला पुगेपनि स्तरोन्नतिको काम सकिएपछि मात्र यातायातका साधन सञ्चालन गर्न सकिने शुक्रबार जलजला पुगेर फर्किएका धवलागिरी गाउँपालिका–२ का नरेश बिकले बताउनुभयो ।

सडक डिभिजन मार्फतनै थप एक करोड बजेट बिनियोजन भएको योजनाबाट मुना–खोरीया–मरेनी खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । बेनीबाट मुना–खोरीया–मरेनी हुदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग खुलेको हो । ढोरपाटनबाट जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

“बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ”, उहाँले भन्नुभयो, “पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।”
जलजला, ढोरपाटन र उत्तरगंगा जाने पर्यटक तथा स्थानीयबासीहरुलाई यो सडक छोटो पर्ने पनि उहाँले बताउनुभयो । म्याग्दीको धवलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले तीन वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।
बेनी देखि तातोपानी–बाबियाचौर हुदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकार मार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङ देखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शिर्षकमा योजना सञ्चालन गरेको प्रदेश सभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।
पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडकखण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा भने संघीय सरकारले ढोरपाटन जोड्ने सडक योजना कटौति गरेकाले चालु आर्थिक वर्षको बजेट पुरा खर्च गराएर स्तरोन्नति गरी यातायात सञ्चालनको वातावरण बनाउन सरोकारवालाको ध्यान जानुपर्ने देखिएको छ ।
