
म्याग्दी, ३१ जेठ ः म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको महशिकारीहरुले बताएका छन् ।
अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा यसपाली दुई सय लिटर मात्र मह उत्पादन भएको बताउनुभयो । पाइजाको टोलीले स्वाँत गाउँ नजिकै रहेको छहरीभिर र छिसको टाउकोमा दुई दिन मह शिकार गरेका थिए ।
हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्षातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले उत्पादन कम भएको पाईजाले बताउनुभयो । म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको लेकाली क्षेत्रमा भिरपहरामा जेठ महिनामा महशिकार गर्ने चलन छ ।

वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । गत वर्ष दुई हजार लिटर मह निकालेको घवलागिरी गाउँपालिका–२ खोरीयाका महशिकारी मोतिप्रसाद पाइजाको टोलीले यस वर्ष पाँच सय लिटर मात्र निकालेको छ ।

धवलागिरीको गुुर्जा, मुदी, रघुगङ्गाको चिमखोला, कुइनेमङ्गले, अन्नपूूर्णको हिस्तानमा रहेका भिरमा महशिकार गर्न गएका शिकारी टोलीहरुले पनि मह उत्पादन घटेको बताएका छन् । खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बिच भागमा भिरमौरीको बासस्थान हुन्छ । वनजङ्गलमा फुल्ने फुल भिरमौरीको आहरा हो । हिउँदमा न्यानो खोज्दै बेशी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाईसराई गर्छन् ।
डोरीको सहायताले डरलाग्दो भिरमा झुण्डिएर निकालिने भिरमह प्रतिलिटर रु. तीन हजार देखि रु. तीन हजार पाँच सयका दरले भिरमह बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवद्र्धक मानिने भिरमह धार्मिक कार्यका लागि पनि प्रयोग हुुन्छ ।
विदेश गएका र सहरमा बस्नेहरुले भिरमह कोशेलीका रुपमा लैजाने गर्छन् । भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् । मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी(स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।
महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पु¥याउनु पर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।
माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ ।
