
बेनी, म्याग्दीको बेनी सामुदायिक विद्यालयले विद्यार्थीहरुलाई सिप सिकाउन कपाल काट्ने तालिम सञ्चालन गरेको छ ।
बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने २५ जना विद्यार्थीहरुलाई उनिहरुको रुची अनुसार १५ दिने कपाल काट्ने तालिम सञ्चालन गरेको बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठले बताउनुभयो ।
“विद्यार्थीहरुको माग र रुची अनुसार कपाल काट्ने तालिम छनौट गरिएको हो,” उहाँले भन्नुभयो “जेठ २६ गतेदेखि शुरु भएको तालिम असार १० गतेसम्म सञ्चालन गर्छौ ।” विद्यार्थीहरुलाई बेनीका अभिशेक श्रेष्ठले कपाल काट्ने सिप सिकाइरहनु भएको छ ।

दिउँसो ४ बजे विद्यालयको नियमित कक्षाको पठनपाठन सकिएपछि दुई घण्टाका दरले सिप सिकाइएको छ । तालिममा सहभागी कक्षा ११ का छात्र सुयोग रेग्मीले घरपरिवारका सदस्यको कपाल काटेपनि खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनका लागि सिकेको सिपले सहज हुने बताउनुभयो ।

प्रअ श्रेष्ठका अनुसार बेनीमा सार्वजनिक बिदाका दिनमा सैलुनमा कपाल काट्न घण्टौसम्म कुरेर पालो पर्खनुपर्छ । विद्यार्थीहरुले सिकेको सिपको सदुपयोग गरेर सामुहिक व्यवसाय सञ्चालन गर्न चाहेमा विद्यालयले सटर उपलब्ध गराउने प्रअ श्रेष्ठले बताउनुभयो ।
“गत वर्ष पलम्बीङ र त्यसअघिको वर्ष कपाल काट्ने तालिम दिइएको थियो,” उहाँले भन्नुभयो “विद्यालयले पलम्बीङ, हेयर कटिङ र वायरीङ सम्बन्धी सेवा दिन आफ्नै भवनको सटरमा पसल खोल्ने योजना छ ।”
आर्थिक वर्ष २०८०÷०८१ मा पलम्बीङ र २०७९÷०८० मा कपाल काट्ने तालिम सञ्चालन भएको थियो । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सिप सिकाएर विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई चालु आर्थिक वर्ष २०८१÷०८२ मा हामी सक्छौ, हामी गर्छौ कार्यक्रमका लागि रु. एक÷एक लाखका दरले रु. १६ लाख बजेट बिनियोजन गरेको छ ।
बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब पाँच सय जना विद्यार्थीहरू सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ ।
