
जोमसोम, । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मुस्ताङलाई नमुना जिल्लाको रुपमा विकास गर्ने मुद्दा माओवादी पार्टीसँग भएको बताउनुभएको छ ।
मुस्ताङका विभिन्न स्थानीय तहमा गठन भएको माओवादी केन्द्रको पालिका कमिटिका पदाधीकारी तथा सदस्यहरुको बुधबार जोमसोममा भएको संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना रहेको बताउनुभयो ।
“हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ,” उहाँले भन्नुभयो “जनताका समस्या बुझेका छौँ र अब समाधानमा इमानदारीपूर्वक लाग्न आवश्यक छ ।”


मुस्ताङको भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको समेत अध्यक्ष प्रचण्डले बताउनुभएको छ । अध्यक्ष प्रचण्डले माओवादी पार्टी अन्य पार्टीहरूसँग फरक रहेको स्पष्ट गर्दै भन्नुभयो, “माओवादी अरुजस्तो पार्टी होइन् । हामी जनताको हितका लागि काम गर्छौ । तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन् ।”
कार्यक्रममा प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरुलाई जनतामा पुग्न, जनताको आत्मसम्मान जोगाउन र समस्या समाधानमा सक्रिय भूमिका खेल्न निर्देशन दिनुभयो । “हामी यहाँ केही उद्देश्य लिएर आएका छौँ,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “मुख्य उद्देश्य भनेको मुस्ताङलाई कसरी अघि बढाउने भन्ने हो । विकास र समृद्धिको यात्रामा माओवादी केन्द्र प्रतिबद्ध छ ।”
कार्यक्रममा सहभागी माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि आफ्नो कार्यकालमा विकासका कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न पालिकाकामा माओवादी केन्द्रको नेतृत्व गर्ने अध्यक्ष, उपाध्यक्ष, पार्टी सदस्य्हरू लगायत स्थानीय बासिन्दाको समेतको उपस्थिति रहेको थियो । मुस्ताङको भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको समेत अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।
पोखरा देखि मंगलबार साँझ स्थलमार्ग भएर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल भुरुङ्ग–तातोपानीमा बास बसेका ‘प्रचण्ड’ सहित माओवादीका नेताहरुको टोली बुधबार म्याग्दीको दाना, रुप्से झरना हुदै सडक मार्ग भएर मुस्ताङ पुगेको हो ।


उहाँहरूलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, माओवादी जिल्ला समन्वय समिति इञ्चार्ज धीरेन्द्र विक, जिल्लास्थित सुरक्षा निकाय प्रमुख लगायत स्थानीय प्रतिनिधिले म्याग्दी र मुस्ताङको सिमानाका घाँसामा स्वागत गर्नुभएको थियो ।
अध्यक्ष दाहालले आजै राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम ७४ किमी सडकको स्थलगत अवलोकन गर्नुभएको छ । साथै माओवादी अध्यक्षसहित नेताहरूले लामो समयदेखि निर्माण अलपत्र परेको मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ जोड्ने लेते–कुञ्जो मोटरेबल पुलको स्थलगत निरीक्षण गर्नुभएको माओवादी केन्द्रका जिल्ला समिति इञ्चार्ज विकले जानकारी दिनुभयो ।
अध्यक्ष दाहाललाई थासाङस्थित कुञ्जो ताक्लुङ क्षेत्रका बासिन्दाले पुल नबेकोप्रति गुनासो राख्दै निर्माणको पहल गर्न आग्रह गरेका उहाँले बताउनुभयो । सोही क्रममा अध्यक्ष दाहालले पुल निर्माणलाई प्राथमिकतामा राखेर आफू र पार्टीले अधिकतम पहल गर्ने बताउनुभयो ।
अध्यक्ष दाहाल, महासचिव गुरुङलगायत नेताहरूले गण्डकी प्रदेशको पहिलो धौलागिरि प्राविधिक शिक्षालयको अवलोकन एवं निरीक्षण गर्नुभएको शिक्षालयका प्रधानाध्यापक खड्गबहादुर सुब्बाले जानकारी दिनुभयो । उहाँहरूलाई शिक्षालयको विस्तृत जानकारी दिँदै प्रअ सुब्बाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो

अध्यक्ष दाहाल शिक्षालय प्रवेश गर्दा त्यहाँबाट देखिने धौलागिरि हिमाल र निलगिरि हिमालको दृष्यावलोकन गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिनुभएको प्रअ सुब्बाले उल्लेख गर्नुभयो । अध्यक्ष दाहाललाई थासाङ गाउँपालिकाको कोवाङ, टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फा, स्याङलगायत गाउँमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था र स्थानीय नागरिकले स्वागत गरेका छन ।
उहाँले मुस्ताङको माफौस्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको बागवानी फार्मको अवलोकन गर्नुभयो । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारी र कार्यालय प्रमुखहरुसँग छलफल र अन्तरक्रियामा सहभागी हुनुभयो ।
अध्यक्ष दाहाललाई माओवादी केन्द्रका मुस्ताङका जिल्ला इञ्चार्ज कपिल लामासहित जिल्ला नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो । अध्यक्ष दाहालले बिहीबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुस्ताङको पार्टी कार्यालयको भवन शिलन्यास गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य ङुटुक गुरुङले जानकारी दिनुभयो ।

