
बेनी, ः म्याग्दीका थप तीन वटा स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना (सामी) लागू हुने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२÷०८३ देखि धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकामा परियोजना सञ्चालन गर्न लागिएको आइतबार बेनीमा आयोजित कार्यक्रममा जानकारी गराइएको हो ।
वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन स्विस सरकारको आर्थिक सहयोगमा संघीय, गण्डकी प्रदेश सरकार र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा आर्थिक वर्ष २०७९÷०८० देखि बेनी नगरपालिका र मंङ्गला गाउँपालिकामा परियोजना सञ्चालन भएको छ ।
परियोजनाका गण्डकी प्रदेश कार्यक्रम अधिकृत उमा पौडेलले परियोजना अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष सञ्चालन गरेर राहदानी बनाउन आएका व्यक्तिलाई वैदेशिक रोजगारीमा जानुअघि, विदेशमा काम गर्दा र फर्कंदा आइपर्ने कानुनी ज्ञान र विधिका बारेमा जानकारी गराउनाका साथै ठगी, उद्धार, राहत, विदेशबाट शव ल्याउन, क्षतिपूर्ति र बीमा सुविधाका लागि सहजीकरण गरिएको जानकारी दिनुभयो ।


चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन देखि जेठ तेस्रो हप्ता सम्म चार हजार आठ सय १२ जनालाई परामर्श उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीमा अंगभंग वा बिरामी भएका ३४ जनाका आश्रितलाई रु. एक करोड दुई लाख ४० हजार र ६३ जना सन्तानको शिक्षाका लागि रु. आठ लाख १२ हजार छात्रवृत्ति उपलब्ध गराएको छ ।
वैदेशिक रोजगारीमा गएका र समस्यामा फसेका वा उतै मृत्युवरण गरेका आप्रवासीका परिवारलाई कानुनी सहायता लिने विधिसम्बन्धी परामर्श दिनका लागि सहायता कक्षमा दुईजना कर्मचारी परिचालन गरिएको छ ।
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि आप्रवासीहरुले व्यहोर्नुपर्ने सास्ती, झन्झट र समस्या न्यूनीकरण गर्न आप्रवासी स्रोत केन्द्रबाट मनोसामाजिक परामर्श सेवा पनि दिन थालिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
लक्षित वर्गले सही सूचना पाउनुका साथै श्रमिक तथा परिवारको आर्थिक सामाजिक सुदृढीकरण एवं सीप र उद्यमशीलतामा पहुँच बढाउन सामुदायिक सिकाई केन्द्रका परिचालकहरुलाई परिचालन गर्ने तयारी गरेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो ।
बेनीका प्रकाश कुँवरले वैदेशिक रोजगारीमा जानका लागि म्यानपावर कम्पनीलाई बुझाएको रकम र राहदान आप्रवासी सहायता कक्षको समन्वयमा फिर्ता पाउँदा काठमाडौ जान, आउन हुने खर्च बचत र झञ्जटबाट मुक्त भएको बताउनुभयो ।
राहदानी बनाउन आएका व्यक्तिलाई वैदेशिक रोजगारीमा जानुअघि, विदेशमा काम गर्दा र फर्कंदा आइपर्ने कानुनी ज्ञान र विधिका बारेमा जानकारी गराउनाका साथै ठगी, उद्धार, राहत, विदेशबाट शव ल्याउन, क्षतिपूर्ति र बीमा सुविधाका लागि सहजीकरण गरिएको कक्षका सूचना तथा परामर्शकर्ता प्रमिला पौडेलेले बताउनुभयो ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सुरक्षित आप्रवासनको अवस्था र चुनौती तथा कार्यक्रमले पारेका सकरात्मक प्रभाबहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार, बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र शोषणरहित बनाउनका लागि कार्यक्रमले जनचेतना फैलाउने र परामर्श दिने काम गरिरहेको छ ।
