
बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा निर्माण भएको १० शैया क्षमताको अस्पताल भवन प्रयोगमा ल्याउने विषयमा आइतबार सरोकारवालाहरुबीच छलफल भएको छ ।
जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो । जलजला गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर निर्माण सम्पन्न भएको भवनको खर्च विवरण सार्वजनिक गर्नुका साथै प्रयोग, अस्पताल सञ्चालन, उपकरण र जनशक्ति व्यवस्थापनको विषयमा छलफल गरेको हो ।
संघीय सरकारको ‘एक पालिका, एक अस्पताल’ कार्यक्रम अन्तर्गत जलजला गाउँपालिकाले मल्लाज स्वास्थ्य चौकी परिसरमा तीन वटा पक्की भवन निर्माण गरेको छ । भुकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री अस्पतालको भवन निर्माण भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।


उक्त भवन निर्माणका लागि वि.स. २०७८ असार २३ गते जिडब्लुसी÷बिएम÷आइएस जेभी काठमाडौले भ्याट र पिएस सहित नौ करोड ७३ लाख ६४ हजार आठ सय १३ मा ठेक्का सम्झौता गरेको थियो । गाउँपालिकाका ईञ्जिनियर सुनिल बानियाले प्राबिधिक मूल्याङ्कन अनुसार रु. आठ करोड ३६ लाख ५६ हजार दुई सय १७ भुक्तानी भएको जानकारी गराउनुभयो ।
अत्याधुनिक भवनका एक वटा ब्लकमा ¥याम्प र दुई वटामा अस्पतालको प्रयोजनका लागि संरचनाहरु छन् । आकस्मिक, अन्तरंग, बहिरंग, चिकित्सक, प्रशासन, भण्डारण, प्रसुति, लेवर, शल्यक्रिया, एक्सरे, इसिजी, इएसजी, प्रयोगशाला, बैठक कक्षका लागि फरक÷फरक कोठाहरु छन् ।

वि.स. २०८० असार २३ गते सम्पन्न गर्ने लक्ष्य रहेको भवन जग्गा प्राप्तिमा भएको ढिलाई र निर्माण ब्यवसायीले सुरुवाती चरणमा तिब्रताका साथ काम गर्न नसकेका कारण प्रभावित भएको थियो । तेस्रो पटक थप भएको म्याद २०८१ चैत महिनासम्म थियो ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले भवनमा अस्पताल सञ्चालन गर्न संघीय र प्रदेश सरकारसँग उपकरण माग गरिएको बताउनुभयो । चिकित्सक र स्वास्थ्यकर्मीहरुको व्यवस्थापन देखि अस्पतालको सेवा उपभोगमा नागरिक र सरोकारवालाहरुले साथ दिएमा मात्र अस्पताल सञ्चालन सम्भव भएको उहाँको भनाई छ ।

तत्कालै मल्लाज स्वास्थ्य चौकीलाई नयाँ भवनमा स्थानान्तरण गर्ने र स्तरोन्नतिको प्रक्रिया थाल्ने अध्यक्ष आचार्यले बताउनुभयो । अस्पताल सञ्चालन भएमा जलजला गाउँपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडामा पर्ने बाँसखर्क, माझफाँट र लेकफाँटका बासिन्दालाई स्वास्थ्य उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
छलफल कार्यक्रममा जलजला गाउँपालिका–२ का अध्यक्ष प्रकाश जिसी, ३ का अध्यक्ष एकिन्द्र क्षेत्री, ४ का अध्यक्ष भरत क्षेत्री, ५ का अध्यक्ष तिलक जिसी, नेपाली काँग्रेसका पालिका सभापति इन्दुप्रकाश पौडेल, एमाले जलजलाका अध्यक्ष नरबहादुर जिसी, माओवादीका पालिका इञ्चार्ज लोकराज आचार्यका साथै मल्लाका अगुवा, जनप्रतिनिधी र स्थानीयबासीहरुको उपस्थिति थियो ।
वडा नं. ७ धाइरिङ र वडा नम्बर ८ नाग्लीवाङका बासिन्दालाई मल्लाज भन्दा नजिक बेनी अथवा बागलुङ पर्छ । जलजला–९ बनौका बासिन्दालाई भौगोलिक हिसाबले पर्वतको सदरमुकाम कुश्माको अस्पताल नजिक पर्छ । जलजलाका बासिन्दाहरु हाल वडा स्तरको स्वास्थ्य संस्थामा उपलब्ध नहुने स्वास्थ्य उपचार सेवाका लागि बेनी, बागलुङ, कुश्मा र पोखराको अस्पतालमा जाने गरेका छन् ।
