
बेनी । म्याग्दीको मालिका गाउँपालिकाका शिक्षकहरुलाई मगर खाम भाषा सम्बन्धी प्रशिक्षण दिइएको छ ।
पुन मगर समाज मालिका गाउँपालिकाको आयोजनामा मालिका गाउँपालिका–७ मा रहेको प्रभुचेलामा जेठ १३ गतेदेखि सुरु भएको तालिम शुक्रबार समापन भएको हो । मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा १८ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

लोप हुन लागेको खाम मगर भाषा संरक्षण गर्ने उद्देश्यले शिक्षकहरुलाई प्रशिक्षण दिइएको नेपाल पुन मगर समाज मालिका गाउँपालिकाका अध्यक्ष थमबहादुर पुनले जानकारी दिनुभयो । “यहाँका मगर समुदायले आफ्नो भाषा बोल्न छाडिसकेको हुँदा शिक्षकहरु मार्फत भाषा संरक्षणको प्रयास गरिएको हो,” उहाँले भन्नुभयो ।

भाषा प्रशिक्षणका लागि रुकुम तकसेराका कर्णबहादुर बुढा आउनुभएको थियो । भाषा प्रक्षिणका साथै शिक्षकहरुलाई योग र मेडिटेशन पनि गराइएको थियो । प्रक्षिणको समापन गर्नुहुदै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सबै जातजातीको भाषा, संस्कार, संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मालिका गाउँपालिका ७ का अध्यक्ष टकलाल पुन, वडा नं.–६ का अध्यक्ष पथबहादुर रोका, ३ का अध्यक्ष मोतिप्रसाद बुढा, नेपाल पुन मगर समाज म्याग्दीका अध्यक्ष निरज शेर्पुन्जा मगर, सचिव हिरा पुन, साजन चोचाङ्गी पुन, नविन आनन्द योग केन्द्रका योगगुरु नविन जुग्जाली लगायतको सहभागिता थियो ।
