
बेनी, ः ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाले मालिका गाउँपालिका–७ भारवाङ स्थित विद्युतगृह निर्माण स्थलतर्फबाट शनिबारदेखि सुरुङ निर्माण थालेको छ ।
अपर म्याग्दी हाइइ«ोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको भारवाङ स्थित विद्युतगृह माथि रहेको आउटलेटमा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बिस्फोट गराएर सुरुङ निर्माण शुरु गर्नुभएको हो ।
आयोजना प्रमुख ज्योतिकुमार केसीले आउटलेट देखि धवलागिरी गाउँपालिका–४ छहरी स्थित अडित जोड्ने एक हजार आठ सय ६५ दशमलब ९५ मिटर लामो सुरुङ निर्माण हुने जानकारी दिनुभयो । वि.स. २०८१ भदौ १२ गतेदेखि शुरु सुरु भएको एक सय ९८ दशमलब ९० मिटर लामो अडिट (मुख्य सुरुङ जोड्ने पहुँचमार्ग) वि.स. २०८१ मंसिर ७ गते सम्पन्न भएको थियो ।

वि.स. २०८१ चैत १७ गते सुरु भएको धवलागिरी गाउँपालिका–४ खाम्ला स्थित बाँधतर्फबाट सुरुङ खन्ने कार्य हालसम्म ७६ दशमलब ५४ मिटर सकिएको छ । कुल पाँच हजार सात सय ८९ दशमलब ६९ मिटर लामो सुरुङ मध्य हालसम्म २३ दशमलब २६ प्रतिशत अथवा एक हजार तीन सय ४७ दशमलब २१ मिटर निर्माण सकिएको छ ।

हालसम्म २४ दशमलब ४५ प्रतिशत भौतिक र २१ दशमलब ४८ प्रतिशत प्रगति भएको आयोजना प्रमुख केसीले बताउनुभयो । वि.स. २०८० चैत १९ मा सम्झौता र २०८१ जेठ ८ गते परिचालित भएको सिभिल ठेकेदार लुना विल्डर्स एण्ड कन्ट्याक्टरले २० प्रतिशत काम गरेको छ ।

खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ । बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माणको तयारी भएको छ ।
केही समयमै भारवाङमा विद्युतगृह निर्माणको तयारी भएको आयोजनाको मेकानिकल र इलेक्ट्रो–मेकानिकल कार्यको लागि निर्माण कम्पनी छनौट कार्य अन्तिम चरणमा रहेको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेट देखि विद्युतगृहको उचाई एक सय ९६ मिटर रहेको छ ।
आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ । उर्जा इन्जिनियरीङ् एण्ड म्यानेजमेन्ट सोलुुसन प्रा.ली. परामर्शदाता रहेको यस आयोजनाको प्रर्वद्धक कम्पनी उर्जा डेभलपर्स प्रा.ली.मा आवद्ध छ ।
विद्युतगृहतदेखि मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधिन एक सय ३२ केभी क्षमताको सवस्टेशन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलब पाँच किलोमिटर प्रशारण लाइनको अध्ययन भइरहेको छ । वि.स. २०८३ फागुन २१ गते विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।
सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयर मार्फत जुटाइने रु. ११ अर्ब २३ करोड २७ लाख छ हजारको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ् । यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत केन्द्रिय लाइनमा जोडिनेछ् ।
भारवाङ देखि बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि बिनियोजन गरेको रु. छ करोड २० लाख बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, मठमन्दिरहरुलाई हालसम्म रु. एक करोड नौ लाख २५ हजार सहयोग गरेको जनाएको छ ।
मुख्य पूर्वाधार निर्माण भईसेकेको, वित्तीय कारोवार सहज रहेको तथा हाल सम्म आयोजनाको प्रगति लक्ष्य अनुसार निर्धारित समय तालिका भित्र भइरहेकाले आयोजना निर्धातिर समय तालिका भित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख केसीले बताउनुभयो ।
