
बेनी, । दलित महिलाहरूको सामाजिक सशक्तीकरण, नेतृत्व क्षमता अभिवृद्धि तथा कानुनी जानकारी विस्तार गर्ने उद्देश्यले म्याग्दीको बेनीमा एकदिने नेतृत्व विकास तालिम बेनी बजारमा सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय, म्याग्दीको आयोजना तथा बेनी नगरपालिकाको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा बेनी नगरपालिकासहित रघुगंगा गाउँपालिकाका दलित महिला जनप्रतिनिधिहरू र राजनीतिक दलमा आवद्ध दलित महिलाको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन सत्र सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीको अध्यक्षता र बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेको प्रमुख आतिथ्यतामा भएको थियो ।
एकदिने तालिमको मुख्य उद्देश्य दलित महिलाहरूलाई नेतृत्व विकासमा उत्प्रेरित गर्नु, सामाजिक रूपान्तरणमा योगदान दिने क्षमता विकास गर्नु तथा सार्वजनिक निर्णय प्रक्रियामा सहभागिता बढाउनु रहेको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले जानकारी दिनुभयो ।



अभिमुखीकरण कार्यक्रममा दलित महिला अधिकार, समानता, भेदभाव विरोधी कानुन तथा स्थानीय तहमा पहुँचबारे जानकारी दिइएको थियो । नेपालको संविधानमा उल्लेखित दलित अधिकार, लैङ्गिक समानता तथा भेदभाव निवारणसम्बन्धी कानुनी प्रावधानहरू र स्थानीय तहमा महिला सहभागिताको महत्व, नेतृत्व विकास, निर्णय प्रक्रिया र सामुदायिक सहभागिता, व्यक्तित्व विकास र आत्मविश्वास निर्माणका लागि आत्मपहिचान लगायतका विषयमा तालिम कार्यशालामा छलफल भएको तालिम अभिमुखीकरणका मुख्य सहजकर्ता एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य विनोद प्रसाद शर्माले जानकारी दिनुभयो ।
समापन सत्रमा सहभागीहरूको तर्फबाट रघुगंगा गाउँपालिकाकी कार्यपालिका सदस्य सम्झना परियार र बेनी नगरपालिकाकी नगर सभा सदस्य पवित्रा किसानले मन्तव्य व्यक्त गर्दै तालिम उपयोगी रहेको जनाउनुभयो । उहाँहरूले एक दिनको तालिम उपयोगी भए तापनि यसले पर्याप्त समय नपाएको उल्लेख गर्दै सामाजिक विकास कार्यालय तथा नगरपालिकासँग यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
समापन मन्तव्य व्यक्त गर्दै बेनी नगरपालिकाकी नगर उपप्रमुख ज्योति लामिछानेले तालिमले नेतृत्व विकासको जग खडा गरिदिएको उल्लेख गर्दै सहभागीहरूलाई अब लक्ष्य निर्धारण गरेर अघि बढ्ने जिम्मेवारी स्वयम्ले लिनुपर्ने बताउनुभयो । “तालिमले बाटो देखाउँछ, सम्पूर्ण ज्ञान दिन सक्दैन,” उहाँले भन्नुभयो, “सामाजिक परिवर्तनका लागि आफूमा परिवर्तन गर्न तयार हुनुपर्ने हुन्छ, त्यसपछि मात्र समाजमा परिवर्तन ल्याउन सकिन्छ ।”
उहाँले सामाजिक विकास कार्यालयको समन्वयमा रघुगंगा गाउँपालिकाका प्रतिनिधिलाई समेत सहभागी गराउन सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा बेनी नगरपालिकाले अझ परिस्कृत र प्रभावकारी क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापनमा आयोजक सामाजिक विकास कार्यालयले सहभागीहरूको सक्रियता र प्रतिवद्धताप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराएको थियो ।
