
जोमसोम, । मुस्ताङको वारागुङ मुुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुुरुङले पारिश्रमिक वापत पाएको रकम खर्चेर फल्याक गाउँलाई उज्यालो बनाउनुभएको छ ।

६० घरपरिवारको बसोबास रहेको फल्याक गाउँमा वडा अध्यक्ष गुरुङले तीन महिनाको पारिश्रमिक खर्चेर स्पेट लाइट जडान गर्नुभएको हो । विद्युतको पोलमा स्टेप लाइट जडान गरेपछि रातको समयमा फल्याक गाउँ झिलीमिली र मनमोहक देखिन थालेको छ ।
फल्याकको सबै गल्ली र टोलहरुमा सोमबार लाइट जडान गरिएको थियो । रातको समयमा सुरक्षा र बस्तिको सौन्दर्यकरणका लागि लाइट जडान गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । गण्डकी प्रदेशका वडा अध्यक्षहरुले मासिक रु. २० हजार पारिश्रमिक पाउँछन् । गुरुङ वि.स. २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
