
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको संख्या बराबर भएको छ ।
कक्षा पाँच सम्म पठनपाठन हुने विद्यालयमा तीन जना विद्यार्थी छन् । कक्षा ३ मा दुई र कक्षा ४ मा एक जना विद्यार्थी रहेका विद्यालयका प्रअ रामचन्द्र पाइजा पुनले बताउनुभयो । एक जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना कार्यालय सहयोगी छन् ।
“पछिल्लो तीन वर्षयता विद्यालयमा भर्ना हुने विद्यार्थीनै भएनन्,” प्रअ पाइजाले भन्नुभयो “भएका विद्यार्थी पनि कक्षा छाडेर गएपछि बर्षेनी संख्या घटिरहेको छ ।” बालकक्षा, कक्षा १, २ र ५ विद्यार्थी बिहिन भएको छ ।

स्वाँत गाउँका करिब आधा घरपरिवारको बसोबास पोखरा, काठमाडौ, चितवन, बुटवल र बेलायतमा छ । ७० घर भएपनि हाल करिब २५ देखि ३० परिवार मात्र गाउँमा नियमित बस्ने गरेको प्रअ पाइजा पुनले बताउनुभयो ।

“बेलायती बहालवाला र पुर्व गोर्खा सैनिकका परिवार बेलायतमै छन,” उहाँले भन्नुभयो “युरोप र खाडी मुलक गएकाका परिवार पनि बजार झरेपछि विद्यार्थी अभावको समस्या झेल्नुपरेको छ ।”
नजिकैको शिख मावि पुग्न एक घण्टा पैदलयात्रा गर्नुपर्ने भएकाले विद्यार्थी संख्या कम भएपनि विद्यालय सञ्चालन गर्नुपरेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताउनुभयो । स्वाँतको छिमेकी गाउँ किन्दु आधारभूत विद्यालयमा पनि विद्यार्थी संख्या न्युन भएको उहाँले बताउनुभयो ।
बेलायत सरकारले बाहलवाला र सेवानिवृत्त गोर्खा सैनिकलाई आवासीय सुविधा दिएपछि उनिहरु त्यहाँ गएका छन् । दन्द्धका समयमा युरोप र खाडी मुलुकमा रोजगारी गर्नेका परिवारहरु शान्ति प्रक्रीया शुरु भएको दुई दशकसम्म पनि गाउँ फर्किएनन् ।
स्थानीयबासी मनबहादुर पुन शिक्षा, स्वास्थ्य र रोजगारीको समस्याका कारण बजार झरेका अधिकांश गाउँ नफर्किएका बताउनुभयो । अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको स्वाँत घोडेपानी–खोपारा रुटमा पर्छ । होटल ब्यवसाय सञ्चालन गर्न सकिने सम्भावना छ ।
व्यवसायिक आलु खेती गर्न सकिने प्रशस्त उर्वर जमिन छ । रायो सागको विउ उत्पादनको स्रोत केन्द्र पनि हो स्वाँत गाउँ । कच्चि सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट, मोवाइल सुविधा पुगेको छ । गाउँ छाडेर सहर पसेका चार परिवार स्वाँतमा फर्किएका छन् ।
बेलायती सेनाका सेवानिवृत्त क्याप्टेन बलबहादुर तिलिजा पुनले २४ वर्ष पोखराको बसाई छोडेर जन्मथलो फर्किएर होटल सञ्चालनको तयारी गर्नुभएको छ । दैनिक ५० जना बास बस्न सक्ने क्षमताको तिलिजाको होटल प्यारामिट आगामी अस्टोबर महिनादेखि सञ्चालन गर्ने तयारी भएको हो ।
