
बेनी, ः बेनी नगरपालिका–८ कालीपुल स्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधीमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न आउन थालेका छन् ।
अंग्रेजी माध्यमबाट पठनपाठन, अभिभावक र समुदायको सुझाव अनुसार तयार पारेको कार्ययोजना कार्यान्वयन, विद्यार्थीमैत्री शिक्षण बिधीको प्रयोग, तहवृद्धि, विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग, व्यवस्थित पूर्वाधार र स्रोत साधनको उच्चतम परिचालन गरेपछि विद्यार्थीको आकर्षण बढेको प्रअ सुरेन्द्रप्रसाद केसीले बताउनुभयो ।
“वि.स. २०७१ मा कक्षा पाँच उतिर्ण भएका १२ जना विद्यार्थी बाहिरिने र नयाँ नथपिने भएपछि विद्यालय बन्द गर्ने छहस चलेको थियो,” उहाँले भन्नुभयो “शैक्षिक, भौतिक र आर्थिक कार्ययोजना बनाएर कार्यान्वयन गरेपछि त्यसयताका वर्ष विद्यार्थी संख्या निरन्तर बढेको छ ।”


वि.स. २०७२ को शैक्षिक सत्रमा सेवा क्षेत्रमा बस्तिहरुमा व्यवस्थापन समिति र शिक्षकहरुले घरदैलो गरेर ९३ जना विद्यालय भर्ना गराए । कालीपुल, शिक्षामार्ग, खैरेनी, गणेशटोल, पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी र गुफाटोलका विद्यार्थी बालमन्दिरमा पढ्न आउँछन् । बगरफाँटको आधारभूत विद्यालयको कक्षा घटुवा भएको छ । पर्वत बेनी आधारभूत विद्यालयमा कक्षा ५ सम्मको मात्र पठनपाठन हुन्छ ।
वि.स. २०७३ मा विद्यार्थी संख्या एक सय ३२ पुग्यो । वि.स. २०७५ मा कक्षा ६, २०७८ मा कक्षा ८ र २०८० मा कक्षा ९ को पठनपाठन शुरु गरेको थियो । यस विद्यालयका १० जना विद्यार्थीले २०८१ मा पहिलो पटक माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा सहभागिता जनाएका छन् । दश वर्षअघिसम्म बालमन्दिरमा बर्षेनी विद्यार्थीको संख्या घट्दै गएको थियो ।

अभिभावकले चासो नदेखाउनु, शिक्षकहरु पनि निश्क्रीय बन्नु, सरोकारवालाको बेवास्ता र स्रोत साधनको पहिचान तथा परिचालन नहुँदा बालमन्दिर विद्यालय बन्द हुने अवस्थामा पुगेको थियो । वि.स. २०२८ मा हाल म्याग्दी बालगृह रहेको ठाउँमा स्थापना भएको विद्यालय वि.स. २०५८ मा कालीपुलमा स्थानान्तरण गरिएको थियो । नेपाल बाल संगठनले सञ्चालन गरेको बालगृहमा रहेका अनाथ बालबालिकाहरुलाई पठनपाठनको ब्यवस्था मिलाउन त्यसबेला यो विद्यालय स्थापना भएको थियो ।
हाल कक्षा १० मा २२ जना सहित दुई सय ७२ जना विद्यार्थी रहेको यस विद्यालयमा भर्ना अभियान सकिँदा सम्म विद्यार्थी संख्या करिब तीन सय ५० जना पुग्ने प्रअ केसीको अनुमान छ । औसत सिकाई उपलब्धी तीन दशमलब नौ जिपिए छ । यसपाली बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविका एक, पोखराको बिन्दबासिनी माविबाट दुई जना सहित छ जना अन्य विद्यालयका विद्यार्थी बालमन्दिरमा भर्ना हुन आएका छन् ।
बालकक्षापछि एक वर्ष केजी (पुर्व प्राथमिक तह)मा पढाउने र कक्षा १ मा भर्ना गर्ने अभ्यास थालेको यस विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन, विभाग बनाएर शिक्षकहरुलाई जिम्मेवारी बाँडफाड, अतिरिक्त क्रियाकलाप, खेलकुद गतिबिधी सञ्चालन, कक्षाकोठाबाट बाहिर निस्कीदा आउटपासको ब्यवस्था, कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालयको ब्यवस्था गरेको छ ।

कक्षाकोठामा शैक्षिक सामग्रीको प्रर्दशनी र प्रयोग गरेर विद्यार्थीको सहभागितामा पठनपाठन गर्ने बिधी अपनाएको छ । प्राथनाको समयमा विद्यार्थीहरुले सामान्य ज्ञान, समाचार बाचन र कला प्रस्तुत गर्छन् । हरेक तीन÷तीन महिनामा सामुहिक र व्यक्तिगतका साथै शिक्षकले अभिभावकलाई फोन गरेर विद्यार्थीको आनीबानीका बारेमा छलफल गर्छन् । विद्यालय नआएका विद्यार्थीका अभिभावकलाई शिक्षकले फोन गरेर सोधपुछ गर्छन् ।
विभिन्न संघ संस्था र दातासँग समन्वय गरेर विपन्न विद्यार्थीहरुलाई छात्रावृत्ति, पोशाक, शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको प्रअ खत्रीले बताउनुभयो । विद्यालयबाट अतिरिक्त क्रियाकलापका प्रतियोगितामा सहभागी हुने विद्यार्थी र शिक्षकलाई हौसला प्रदान गर्न सम्मानका साथै विद्यार्थीको जन्मदिन मनाउने गरेको छ ।

विद्यालय परिसरको जग्गामा निर्माण भएको भवन तथा टहराबाट मासिक रु. दुई लाख ३२ हजारका दरले हुने आम्दानीबाट नीजी स्रोतका चार जना शिक्षक र एक जना सुरक्षा गार्डको तलब व्यवस्थापन गरेको विद्यालयले अभिभावकबाट कुनै पनि शिर्षकमा शूल्क लिने नगरेको व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माले बताउनुभयो ।

विद्यालयमा आठ जना प्राथमिक तहको दरबन्दीका स्थायी शिक्षक छन् । निमावी तहको दरबन्दीमा एक जना र एक जना राहत दरबन्दीका छन् । संघीय अनुदान कोटा मावि तहका एक जना र एक जना विद्यालय सहयोगी कर्मचारी छन् । चार जना शिक्षक र एक जना सुरक्षा गार्ड निजि स्रोतबाट राखिएको छ ।
पछिल्लो दश वर्षमा रु. दुई करोड ५० लाख भन्दा बढीको लागतमा चार वटा भवन, कम्प्युटर, विज्ञान प्रयोगशाला, शौचालय, सभाहल, सटरकोठा भवन, खानेपानी, खेलमैदानको भुईमा पेभर ब्लक बिछ्याइएको छ ।
छात्रावासका लागि पाँच कोठे भवन निर्माणाधिन छ । यस वर्षदेखि विद्यालयमै खाजा पसल सञ्चालन भएको छ । विद्यालय परिसरको खाल्डो र खेलमैदानमा जमेको पानीमा ढुङ्गा राखेर कक्षाकोठामा छिर्नुपर्ने अवस्थाको विद्यालय अहिले पूर्वाधारका हिसाबले व्यवस्थित र सुविधासम्पन्न बनेको छ ।
विद्यार्थीको चाप बढेपछि तत्कालीन जिल्ला शिक्षा कार्यालय र बेनी नगरपालिकाको सहयोगमा भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि शिक्षा कार्यालयले उपलब्ध गराएको बजेट अपुग भएपछि विद्यालयले भवनको सटरको दुई वर्षको अग्रिम भाडा उठाएर भवन बनाएको थियो ।
तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष हरिकुमार श्रेष्ठ, नेत्रबहादुर महत, मनबहादुर चर्माकार, रामकृष्ण बराइली देखि हालका अध्यक्ष सुरेन्द्रराज शर्माले विद्यालयको भौतिक पूर्वाधार विस्तारमा अगुवाई गर्नुभएको छ । विद्यालयको पाँच रोपनी क्षेत्रफलको जग्गा छ ।
१८ वटा कक्षाकोठा, कच्चि संरचनाका सहित १० वटा सटर भएका तीन वटा भवन निर्माण भएका छन् । ९० प्रतिशत विद्यार्थी दलित समुदायका रहेका सहायक प्रअ गिता सुवेदीले बताउनुभयो । विपन्न विद्यार्थीको पठनपाठनमा सघाउन रु. ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित अभियान सञ्चालन गरेको छ ।
छ जनाले विभिन्न कोष र सहयोग गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका यामबहादुर भण्डारी र मिनाकुमारी बानियाले रु. एक लाख सात सय ७३ र हाल अमेरिकामा रहेका पूर्व विद्यार्थी प्रेम सिकेले रु. दुई लाख सहयोग गर्नुभएको छ । हाल पोखरामा रहेका साधना र तेजिन्द्र तुलाचनले रु. १० हजार एक सय, काठमाडौमा रहेकी पुर्णिमा तुलाचनले रु. दश हजार एक सय, जर्मनमा रहेकी सुमित्रा शेरचनले रु. १० हजार एक सय, रमा किसान र विश्शु किसानले रु. दश हजार सहयोग गर्नुभएको छ ।
पूर्व विद्यार्थी प्रेम सिकेको समन्वयमा अमेरिकाबाट हालै रु. पाँच लाख मूल्य बराबरको सूचना प्रबिधिका सामग्री सहयोग प्राप्त भएको थियो । पुर्व विद्यार्थी, दाता र सामाजिक संघ संस्था खोजेर विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाकको ब्यवस्था मिलाइएको छ ।
खेलमैदानको अभाव र छात्रावास सञ्चालनका लागि पर्याप्त भवन नहुनु, शैक्षिक सत्रको अन्तिम सम्म पनि भर्ना हुन आउने र केही विद्यार्थीहरुले बिचमा विद्यालय परिवर्तन गर्ने समस्या रहेको छ । रोजगारीको शिलशिलामा बेनीमा आएका अभिभावकहरु कामको खोजीमा अन्यत्र जाँदा बालबालिकाले शैक्षिक सत्रको बिचमा विद्यालय परिवर्तन गर्ने समस्या देखिएको हो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बालमन्दिर माविमा तह थप गर्न विद्यार्थी संख्या कम भएका अन्य विद्यालयबाट आधारभूत तहको दरबन्दी भएपनि माध्यमिक तहसम्म पठनपाठन गर्न सक्ने विषयगत शिक्षकको ब्यवस्था मिलाएको बताउनुभयो ।
बेनीमा रहेको बेनी सामुदायिक र प्रकाश माविमा बढ्दो विद्यार्थीको चाप ब्यवस्थापन गर्न बालमन्दिर माविलाई तहवृद्धि गरि शैक्षिक र भौतिक क्रियाकलापमा नगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख केसीले बताउनुभयो । सामुदायिक विद्यालयहरुका लागि बालमन्दिर माविको सुधार र परिवर्तन उदाहरणीय बनेको उहाँको भनाई छ ।
नोट ः यो समाचार बेनी नगरपालिकाको शैक्षिक गतिबिधीसँग सम्बन्धीत फेलोसिप कार्यक्रम अन्तर्गत तयार पारिएको हो ।
