
बेनी, । थकाली सेवा समिति बेनी क्षेत्रको १७ औ साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनबाट सुन्दरमान शेरचनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा योगेन्द्रमान शेरचन, शान्ति भट्टचन, सचिवमा दिलिप गौचन, कोषाध्यक्षमा लिलप्रसाद गौचन र सहकोषाध्यक्षमा सुष्मा भट्टचन चयन हुनुभएको छ ।
सदस्यहरुमा तेजिन्द्र शेरचन, हिमाल शेरचन, विश्व शेरचन, मन तुलाचन, गोकुल गौचन, पूर्ण गौचन, दिलकुमारी गौचन, आशा शेरचन र गंगा प्रसाद शेरचन रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै पुर्व राज्यमन्त्री भिमप्रसाद गौचनले आत्मनिर्भर, मेहनति र इमान्दार पहिचान बनाएका थकाली समुदायको भाषा, संस्कार, संस्कृति र रहनसहनको संरक्षणमा जोड दिनुभयो ।

बेनी नगरपालिका –७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले थकाली सेवा समितिसँग समन्वय गरेर काम गरिरहेको बताउदै समाजको सभाहलको छानाफेर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।


कार्यक्रममा थकाली सेवा समितिका केन्द्रिय सल्लाहकार गोपाल भट्टचन, केन्द्रिय सदस्य शंकरमान शेरचन, थकाली युवा समाजका निवर्तमान केन्द्रिय सहसचिव दिलिप शेरचन, दाना–तातोपानी क्षेत्रका सचिव जिवन तुलाचनले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालक समितिका सचिव योगेन्द्रमान शेरचनले पछिल्लो कार्यकालमा रु. ३६ लाख ११ हजार दुई सय ४४ आम्दानी, रु. २१ लाख ७६ हजार खर्च र रु. १४ लाख ६३ हजार बचत रहेको जानकारी गराउनुभयो ।
समितिका अध्यक्ष जगत नारायण गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुन्दरमान शेरचनले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
