ताराखोलामा सहिद उद्यान निर्माण

Shreekrishna hardware

ताराखोला, ८ जेठ । तत्कालीन माओवादी जनयुद्धमा जीवनोत्सर्ग गर्ने सहिद तथा बेपत्ताजनको स्मृतिमा बागलुङको ताराखोला गाउँपालिका–२ अर्गल, गयारमा उद्यान निर्माण गरिएको छ ।

गाउँपालिकाद्वारा निर्मित ‘सहिद तथा बेपत्ता योद्धा स्मृति उद्यान’को बिहीबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । उहाँले उद्यानमा रहेका २६ सहिद र दुई बेपत्ताको सालिक अनावरणसमेत गर्नुभएको थियो ।

गयारलाई युद्धताका माओवादी जनमुक्ति सेनाले तालिम केन्द्रका रुपमा प्रयोग गरेका थिए । विसं २०५८ मङ्सिरमा सरकारी सुरक्षा फौजले गयारमै तीन माओवादी समर्थकलाई एकसाथ हत्या गरेको थियो ।

Shreekrishna

गाउँपालिकाले युद्ध पर्यटनको नमुना योजनाका रुपमा चार वर्षअघि सहिद उद्यानको योजना अगाडि बढाएको थियो । अहिलेलाई ताराखोला गाउँपालिकाभित्रका सहिद र बेपत्ताको मात्र सालिक राखिएपनि पछि जिल्लाभरका सहिदका सालिक राख्ने लक्ष्य रहेको अध्यक्ष धनबहादुर विक (हिमाल)ले बताउनुभयो ।

गाउँपालिकाले सहिद उद्यानसहित त्यहाँका अन्य पर्यटकीय गन्तव्यस्थलको विकास र प्रवद्र्धनका लागि रु. १६ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मार्फत काम गरिरहेको उहाँको भनाइ छ । “उद्यानमा सङ्घ सरकार, प्रदेश सरकार र गाउँपालिकाले लगानी गरेको छ”, अध्यक्ष विकले भन्नुभयो, “जनयुद्धका सहिद तथा बेपत्ता योद्धाको सम्मानसहित पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्यसहित उद्यान निर्माण गरिएको हो ।

सहिद उद्यानमा पदमार्ग, पोखरी र प्रतिक्षालयलगायत संरचना निर्माण गरिएको छ । पूर्वाधार बनाउँदा स्थानीय सिप र प्रविधिको प्रयोग गरिएको छ । पदमार्गमा गाउँकै ‘स्लेट’ ढुङ्गा राखिएको छ । प्रतिक्षालय काठ र ढुङ्गाको बनाइएको छ ।

जनयुद्धकालमा उक्त ठाउँमा तालिमका लागि बनाइएको बंकर (सुरुङ) संरक्षण गरिएको छ । ताराखोला गाउँपालिका–२ का वडा अध्यक्ष भद्रबहादुर क्षेत्रीका अनुसार सहिद उद्यान निर्माणका लागि गण्डकी प्रदेस सरकारले आर्थिक वर्ष २०७८÷०७९ मा १६ लाख, २०७९÷०८० मा रु. ४० लाख र २०८०÷०८१ मा रु. नौ लाख ५० हजार बजेट बिनियोजन गरेको थियो । गाउँपालिकाले अर्गलको भातखाने डाडामा रहेको पालिका केन्द्र देखि पार्क जोड्ने पदमार्ग निर्माण गरिरहेको छ । सहिदको शालिक र ताम्रपत्रहरु गउँपालिकाले बनाएको हो ।

लामीडाँडा सामुदायिक वन क्षेत्रको १२ सय ९१ वर्ग मिटरमा उद्यान निर्माण गरिएको हो । सहिद पार्क समुन्द्रि सतहदेखि दुई हजार तीन सय मिटर उचाईमा छ । माओवादीका स्थानीय कार्यकर्ता मेखबहादुर बिक (पहाड)ले वि.स. २०५७ मा आफूले पहिलो पटक यहाँ सैन्य तालिम लिएको स्मरण गर्नुभयो ।

ताराखोला जनयुद्धमा बागलुङमा बढी प्रभावित ठाउँ हो । त्यहाँका दुई जना अझै बेपत्ता छन् । उद्यानमा युद्धकालीन समयलाई झल्काउने कलात्मक मूर्ति र नमुना युद्ध सामग्री पनि राखिने जनाइएको छ । कुनैताका युद्धमा हेलिएको गाउँलाई पर्यटनका माध्यमबाट चिनाउन सहिद उद्यानले सघाउने विश्वास लिइएको छ ।

अर्गलको गयारलाई मात्र नभएर ताराखोलाका अरु कैँयन क्षेत्रलाई पनि माओवादी कार्यकर्ता र जनमुक्ति सेनाले आश्रयस्थल बनाएका थिए । कुनैताका जनयुद्धको तालिमस्थल रहेको गयारमा उद्यान उद्घाटनपछि बोल्दै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले दस वर्षे जनयुद्ध नेपाली उत्पीडित वर्ग तथा समुदायले गरेको महान विद्रोह रहेको बताउनुभयो ।

Ban devision notice

जनयुद्धकै बलमा मुलुकले युगान्तकारी परिवर्तन हासिल गरेको उहाँको भनाइ छ । “जनयुद्ध दर्शन र विचारमा आधारित थियो, इतिहास, समाज विकासक्रम र संस्कृतिको अध्ययन गरेर तय गरिएको कार्यदिशा थियो”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “सामन्ती राज्य व्यवस्थाको दासत्व र क्षेत्रीय उत्पीडिन विरूद्धको महान विद्रोह थियो ।” जनयुद्धकै कारण सामन्ती राज्य व्यवस्थाको अन्त्य भई मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले एकाथरीले अहिले पनि जनयुद्धलाई नकारात्मक ढङ्गले टिप्पणी गर्ने गरेको उल्लेख गर्दै त्यसलाई इतिहासले खण्डन गरिसकेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिदका रूपमा सूचिकृत गरिएको उहाँले बताउनुभयो । “सहिद, बेपत्ता र घाइतेहरूको योगदानलाई खेर जान दिने छैनौँ, राज्यबाटै उचित सम्मानको व्यवस्था मिलाइनेछ”, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

सहिद पार्क उद्घाटनका अवसरमा ताराखोलाका सहिद र वेपत्ताका आफन्तजनलाई सम्मान गरिएको थियो । ताराखोलाले जनयुद्धका सहिदका परिवारलाई मासिक रु. एक हजारका दरले भत्ता दिदै आएको छ ।

सहिद पार्क उद्घाटनका क्रममा माओवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री दाहाललाई गाउँपालिकाले विकास आयोजना र नीतिगत विषयमा मागपत्र पेश गरेको छ । बिहु, माझकटेरी अर्गल हुदै ताराखोला जोड्ने सहिद मार्गको स्तरोन्नतिलाई पूर्णता दिन, भागो खेती र स्लेट खानीहरुलाई बैध बनाउन कानुन निर्माणका विषयमा ध्यानाकर्षण गराइएको ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोकाले बताउनुभयो ।

‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताउनुभएको छ । साथै उहाँले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभयो । ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरकारसँग रकम माग्ने बताउनुभयो ।

“सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो, तर त्यसले सार्थकता पाउन सकेन, यसपालि विशेष प्रयत्न गर्छौँ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले पनि यो सडक महत्वपूर्ण छ ।”

भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा पनि विकासनिर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको उहाँले बताउनुभयो । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप २० किलोमिटर लामो उक्त सडक चार वर्ष अघि नै कालोपत्र गरिने सडकका रूपमा छनोट गरिएको थियो ।

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान अन्तर्गत प्रचण्ड लगायतका माओवादीका नेताहरुले बिहिबार बागलुङको निसिखोला, बुर्तिबाङ, गलकोट र ताराखोलामा जनभेटघाट र सभाहरुलाई सम्बोधन गर्नुभएको थियो । सभामा नेताहरुले माओवादी नेतृत्वको वि.स. २०६४ को सरकारले मध्यपहाडमा बस्ने मजदुर किसान, उत्पीडित वर्ग र समुदायका निम्ति जीवनरेखा बन्न सक्ने निष्कर्षसहित मध्यपहाडी लोकमार्गको काम अघि बढेको बताउनुभयो ।

माओवादी पार्टी बलियो शक्ति बने मात्र देश बलियो बन्ने चर्चा गर्दै वर्तमान सरकारप्रति जनताको विश्वास घटेको दाबी गर्नुभयो । सरकारका गलत क्रियाकलापको चिरफार गर्न मध्यपहाडी लोकमार्ग जागरण अभियान चलेको नेताहरुको भनाइ थियो । आफूहरू जनतामाझ आएको र उनीहरूका पीरमर्का बुझेर सम्बोधन गरिने नेताहरुले प्रतिवद्धता जनाएका छन् । निराश जनतालाई जागरण अभियानले जोडेको र उत्साही बनाएका बताइएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...