
बेनी, । उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर) ले आगामी आर्थिक वर्षको बजेटमा म्याग्दीका नदी नियन्त्रणका योजनाहरुलाई प्राथमिकताका साथ बजेट बिनियोजन गर्ने बताउनुभएको छ ।
राज्यमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका गर्बुजाले नेपाली काँग्रेस म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बेनी र सिंगा तातोपानी बजार संरक्षण कार्यक्रमलाई निरन्तरता दिदै थप करिब ३० ठाउँमा नदी नियन्त्रणका योजनालाई बजेटको बयवस्थापन गर्ने बताउनुभयो ।


“मैले जिम्मेवारी सम्हाल्नुअघिनै मन्त्रालयहरुको योजना तथा बजेट सफ्टवेयरमा राख्न काम सकिएको रहेछ् । बजेट र योजना नपाउने भए मलाई किन यहाँ ल्याएको त भनेर अली कडा कुरा राखेपछि मन्त्री, सचिव र महाशाखा प्रमुखहरु कन्भिन्स हुनुभयो र ३० वटा जति योजना राखेको छु,” उहाँले भन्नुभयो “अन्य मन्त्रालयका योजनाहरुमा पनि सकेको जति प्रयास गरेको छु ।”

बेनी–दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा पखेर–सिम बेलीब्रिज जडानका लागि भौतिक मन्त्रालय र गण्डकी प्रदेश सरकारसँग समन्वय गरेको बताउनुभयो । “भारत सरकारले दिएको बेलिब्रिज हेटौडामा राखिएको रहेछ,” उहाँले भन्नुभयो “विपद् प्रभावित भएका कारण त्यो पुल म्याग्दी ल्याउन लडिरहेको छु ।”
भौतिक मन्त्रालयले पुल उपलब्ध गराउन प्रक्रीया थालेको र पुल जडानका लागि गण्डकी प्रदेश सरकारसँग बजेट ब्यवस्थापन गर्न मुख्यमन्त्रीसँग छलफल गरेको राज्यमन्त्री गर्बुजाले बताउनुभयो । म्याग्दी र नेपाली काँग्रेसको शिर नझुक्ने गरेर काम गर्ने गर्बुजाले प्रतिवद्धता जनाउनुभयो ।
म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य गर्बुजा वैशाख १७ गते उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री नियुक्त हुनुभएको थियो । नेपाली काँग्रेस म्याग्दीका सभापति समेत रहेका गर्बुजालाई उक्त पार्टीका नेता कार्यकर्ताहरुले बाजा र अबिरजात्रा सहित स्वागत गरेका थिए ।
सोमबार मंगला, मालिका र धवलागिरी गाउँपालिका तथा मंगलबार बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा म्याग्दी तथा कालीगण्डकी नदीको कटानको जोखिममा रहेका स्थानको मन्त्रालयको प्राविधिक टोली सहित निरिक्षण गर्ने राज्यमन्त्री गर्बुजाले बताउनुभयो ।
