
बेनी, ः नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ मा संघीय र प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरक ÷फरक ठाउँमा सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिचाई तथा खानेपानी डिभिजन कार्यालयले पक्कि पर्खाल निर्माण गरेका हुन् ।
गत फागुन महिनादेखि शुरु भएको दुई वटै योजना बर्खा शुरु हुनु अघिनै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताउनुभयो । असार अन्तिम सम्म ठेक्काको म्याद भएपनि व्यवसायीले छिटो सम्पन्न गरेका हुन् ।
रु. एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरेको साहाना–बि.आर.टी. जेभी पर्वतले सरस्वती माविमुनी कम्पोजित प्रबिधिको पर्खाल निर्माण गरेको छ । यो योजनाका लागि रु. दुई करोड ७० लाख लागत अनुमान गरिएको थियो ।

म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाई भएको तीन÷तीन मिटर अग्लो कंक्रिट र त्यसमाथी ग्याविन पर्खाल निर्माण भएको सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाका ईञ्जिनियर नरजङ गुरुङले बताउनुभयो ।

जलस्रोत, सिचाई तथा खानेपानी डिभिजन कार्यालयले बिनियोजन गरेको रु. ५० लाख बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडी पक्कि पर्खाल निर्माण गरेको छ । यो ठेक्का मार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावीयन पर्खाल निर्माण भएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताउनुभयो ।
वि.स. २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानी स्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुई वटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवति आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ ।
यसअघि ग्यावीयन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिदै आएकोमा यसपाली देखि पक्कि पर्खाल निर्माण गर्न थालिएको वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । प्राकृतिक उपचार स्थलको रुपमा परिचित सिंगा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्षमा बहुबर्षीय स्रोत सुनिश्चित भएको रु. १० करोड बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रीयामा छ ।
सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाका ईञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडी एक सय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो ।
