
मुना, ः म्याग्दीको धवलागिरी गाउँपालिकामा रहेको मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले शनिबार मुनामा ‘पुुख्र्यौली’ नृत्य प्रतियोगिता भएको छ ।
धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच वटा समूहका कलाकारहरुले मौलिक पुुख्र्यौली र राधाकृष्ण नाच प्रस्तुत गरेका थिए । प्रतियोगितामा मुुना पुुख्र्यौली समूह प्रथम, मुदी पुुख्र्यौली समूह दृतीय र खिवाङ पुख्र्यौली नृत्य समूह तृतीय भएका छन् ।
काफलडाडा पुख्र्यौली समूह र ताकम धार्मिक नाट्य समूहलाई सान्तवना पुरस्कार प्रदान गरिएको थियो । प्रथम, दृतीय, तृतीय र सान्तवना हुने समूहले प्रमाणपत्र र क्रमश नगद रु. २५ हजार, २० हजार, १५ हजार र सात÷सात हजार प्राप्त गरेका छन् । मुना बाहेकका गाउँबाट आएका सहभागीलाई यातायात सुविधा पनि उपलब्ध गराइएको थियो ।


गत माघ महिनामा बेनीमा भएको जिल्ला स्तरीय पुुख्र्यौली नृत्य प्रतियोगितामा प्रथम भएको मुुना पुख्र्यौली नृत्य समूहलाई रु. ३५ हजार नगद प्रदान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, वडा नं.३ का अध्यक्ष देवेन्द्र रोकाले पुुरस्कार वितरण गर्नुभएको थियो ।
मौलिक कलाको संरक्षण र पुस्तान्तरणका लागि प्रतियोगिताले सहयोग पु¥याएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । धवलागिरी गाउँपालिकाले पहिलो पटक पुख्र्यौली नृत्य प्रतियोगिता आयोजना गरेको हो । संस्कृतिको संरक्षणको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने योजना रहेको उपाध्यक्ष पुनमगरले बताउनुभयो ।


चार वटा पुख्र्यौली र ताकमको धार्मिक नाट्य समूहले सहभागिता जनाएका हुन् । धवलागिरी गाउँपालिकाको मुना स्थित कार्यालय परिसर शनिबार दिनभर संगितमय बनेको थियो । नृत्य अवलोकन गर्न मुनाका बासिन्दाहरुको उल्लेख्य सहभागिता थियो । पुख्र्यौली गितमा देवी देवता, वाइसे चौबिसे राज्यका कथा देखि माया पिरतीका शब्दहरु व्यक्त भएका थिए । मादले र मारुनीले गितको भाकामा नृत्य प्रस्तुत गरेका थिए ।
धवलागिरी गाउँपालिकाको मुना स्थित कार्यालय परिसर शनिबार दिनभर संगितमय बनेको थियो । धवलागिरी गाउँपालिकामा बसोबास गर्ने मगर र छन्त्याल समुदायको जन्म देखि मृत्यु सम्मका संस्कारगत कार्यमा पुख्र्यौली नाच देखाउने गरिन्छ ।
धार्मिक कथामा आधारित राधाकृष्ण नाच धवलागिरी गाउँपालिकाको वडा नं. ७ ताकममा बसोबास गर्ने ब्रह्माण समुदायको मौलिक संस्कृति हो । ताकममा दुई सय वर्षदेखि राधाकृष्ण नाच देखाउने गरिएको छ । नृत्य प्रतियोगितामा धवलागिरीको सांस्कृतिक बिबिधता झल्किएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो । आगामी वर्षको प्रतियोगितामा थप समूहको सहभागिताका लागि पहल गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष पुनको प्रमुख आतिथ्यता, उपाध्यक्ष पुनमगरको अध्यक्षता, वडा नं.–३ का अध्यक्ष रोकाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख पुष्पा दवाडीले सञ्चालन गर्नुभएको थियो ।
