
कुशल शर्मा
रत्नेचौर, ः बेनी नगरपालिका–१ रत्नेचौरमा बुधबार बाँसका सामग्री बनाउने तालिम सम्पन्न भएको छ ।
बेनी नगरपालिकाको आमा समूहसँग उपमेयर कार्यक्रम अन्तर्गत रत्नेचौरका १६ जनालाई बाँसबाट सजावटका सामग्री र मुडा बनाउने तालिम दिइएको हो । १५ दिनसम्म सञ्चालन भएको तालिममा बागलुङका भवन थापाले प्रशिक्षण दिनुभएको थियो ।
बेनी नगरपालिकाको आर्थिक सहयोग, रत्नेचौरको वडा कार्यालयको आयोजना, चेतनशिल आमा समूह र वडा स्तरीय महिला सञ्जालको सहआयोजनामा तालिम सञ्चालन भएको हो । तालिममा सहभागी यामु थापाले बाँस र चोयाबाट मुडाका साथै स्ट्रे, फुलदानी, प्रमाणपत्र राख्ने फ्रेम, चुरादानी, कलम र ब्रसदानी बनाउन सिकेको बताउनुभयो । व्यवसायिक रुपमा सामान उत्पादन गरेर सिपको सदुपयोग गर्ने उहाँले बताउनुभयो ।


रत्नेचौरमा प्रशस्त मात्रामा पाइने बाँसको सदुपयोगका लागि महिलाहरुलाई सिपमुलक तालिम दिइएको हो । पछिल्लो समय बाँसको प्रयोग घटेको छ । ग्याँस र विद्युतीय चुल्होका कारण दाउराका लागि बाँसको प्रयोग घटेको हो । पशुपालन गर्ने चलन घटेसँगै घाँसका लागि बाँस काट्ने क्रम पनि घट्दो छ ।
घर तथा भवन निर्माणका लागि फर्मा राख्न फलामकै फर्माको प्रयोग हुने गरेको छ । यसअघि ढलानको काममा बाँसको फर्मा राख्ने गरिन्थ्यो । सजावटका सामग्री र मुडा बनाएर बाँसको सदुपयोगका साथै आयआर्जन गर्न सकिने सम्भावना छ । रत्नेचौरमा प्रशस्त बाँस छ । बागलुङ र बेनीको बजार नजिकै भएकाले उत्पादीत सामग्रीलाई बजारीकरण गर्न सहज हुने देखिन्छ ।
रत्नेचौरका वडा सदस्य ताराप्रसाद थापामगरले दोस्रो चरणमा रत्नेचौर र अर्जममा दुई वटा समुहमा च्याउ खेती सम्बन्धी तालिम सञ्चालन गरिने बताउनुभयो । च्याउ खेती तालिमका लागि करिब ८० जना सम्पर्कमा आएका छन् ।
महिलालाई आयआर्जनमुलक व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं.–५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ ।

समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
“महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौं,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०७९÷०८० देखि शुरु भएको चालु आर्थिक वर्षमा रु. २० लाख बजेट बिनियोजन भएको कार्यक्रम वडा न. १ र ५ मा लागू भएको छ ।”
महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेको उपमेयर लामिछानेले बताउनुभयो । नगर उपप्रमुख लामिछानेको प्रस्तावमा तीन वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पुलाचौर आमा समूह मार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा एक सय २५ जनालाई च्याउ खेती, एक सय ३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाई कटाई तालिम प्रदान गरिएको छ । च्याउ खेती र धुप बनाउने समूहलाई दुई÷दुई दिन तालिम, विउ, एक÷एक वटा टनेल सहयोग गरिएको छ ।

तीन महिने सिलाई कटाई तालिममा सहभागीहरुलाई उपकरण पनि सहयोग गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा बेनी नगरपालिका–३ भकिम्लीमा कुखुरापालन र वडा नं.– ९ घतानमा चप्पल, दालमोड, नमकिन बनाउने तालिम सञ्चालन भएको थियो ।
२०८०÷०८१ मा बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन भएको कार्यक्रममा सहभागी महिलाहरुले ब्यवसायिक रुपमा बाजा बजाउन र वडा नं.–२ खबरामा केराको थामबाट धागो बनाउने गरेका छन् । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले आमा समूहसँग उपमेयर कार्यक्रम महिला शसक्तीकरणका लागि प्रभावकारी बनेको बताउदै आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिन छलफल गरिने बताउनुभयो ।
