
बेनी, । लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटले लोकतन्त्र, मिडिया स्वतन्त्रता र जलवायु संकट सम्बन्धी २० बुँदे घोषणापत्र जारी गरेको छ ।
‘लोकतन्त्र, मिडिया स्वतन्त्रता र जलवायु संकट’ सम्बन्धी विभिन्न ठोस प्रतिबद्धता र कार्यदिशासहित २० बुँदे घोषणापत्र जारी गर्दै ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सकिएको हो । मुस्ताङको लोमान्थाङमा पुगेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) प्रतिनिधिसहित नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले २० बुँदे घोषणापत्र जारी गर्नुभएको हो ।
घोषणापत्र जारी गर्दै अध्यक्ष लम्सालले लोकतन्त्र, मिडिया स्वतन्त्रता र जलवायु संकटबारे अब स्थानीय तहका सरकार, पत्रकार, नागरिक समाज, राजनीतिक दलका नेता, अन्तर्राष्ट्रिय प्रतिनिधि, श्रमिक संगठन, विकासकर्मी र मानव अधिकारकर्मी जाग्नुपर्ने बेला भइसकेको बताउनुभयो ।

‘जलवायु संकट अहिले विश्वको चुनौती हो,’ उहाँले भन्नुभयो ‘त्यसकारण राजनीतिक तहबाटै जलवायु संकटलाई प्रमुख मुद्दाको रूपमा लिन राजनीतिक दलहरूलाई आग्रह गर्दछु ।’ उहाँले कोरला नाका सञ्चालन र कालिगण्डकी करिडोर निर्माण शीघ्र सम्पन्न गर्न संघीय सरकारलाई आह्वानसमेत गर्नुभयो ।

उहाँले प्रेस स्वतन्त्रतामाथि डिजिटल नियमनको नाममा भइरहेको आक्रमणको विरोध गर्दै कानुनी समीक्षा र समावेशी रुपमा संवाद गर्न माग गर्नुभयो । मिडिया समिटमा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमाङथाङसम्म विदेशी पत्रकारसहित करिब १५० पत्रकार सहभागी थिए ।
वैशाख २७ गते काठमाडौदेखि शुरु भएको समिट अन्तर्गत ललितपुर, पोखरा र जोमसोममा जलवायु परिवर्तन सम्बन्धी सम्बाद भएको थियो । मंगलबार सदरमुकाम जोमसोममा आयोजित कार्यशाला गोष्ठीमा जलवायु परिवर्तनले मुस्ताङमा असर गरेको बक्ताहरुले बताएका थिए ।
पुथाङ एयरर्पोट सामुदायिक भवनमा आयोजित कार्यक्रममा मुस्ताङमा जलवायु परिवर्तनले खानेपानीको मुहान सुक्दै जाँदा मानबस्ती नै विस्थापित, जलसम्पदा, कृषि, वन तथा जैविक विविधता, भौतिक संरचना र जनस्वास्थ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर पारिराखेको भन्दै विश्वको ध्यानार्कषण गराउनुपर्नेमा जोड दिइएको थियो ।
कार्यशाला गोष्ठीमा जलवायु परिवर्तनको मुख्य कारक नै मानवीय क्रियाकलाप भएकाले विश्वका शक्तीशाल राष्ट्रबाट क्षतिपूर्तीका लागि नेपालले दबाब दिनुपर्ने मुस्ताङका जनप्रतिनिधिको भनाइ छ । प्रदेशसभा सदस्य बिकल शेरचनले जलवायु परिवर्तनकै कारण प्राकृतिक विपत्तीले मुस्ताङमा ठुलो भौतिक क्षति समेत पु¥याएको बताउनुभयो । प्रदेशसभा सदस्य गौचनले भन्नुभयो, ‘‘बस्ती र पूर्वाधार झन् ठुलो जोखिममा छन्, अबको मुद्दा नै जलवायु परिवर्तनले निम्त्याएको बिनासमा केन्द्रित हुनुपर्छ ।’’
कार्यशाला गोष्ठीमा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचन, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालसहित नेपाल प्रेस यूनियनका पूर्व अध्यक्षसहित करिब डेढ सय जनाको उपस्थितिमा जलवायु परिवर्तनको असरबाट जोखिममा रहेका क्षेत्र र समुदायमा सचेतनामुलक अभियान, अन्तर्राष्ट्रिय मञ्चमा जोखिममा परेको नेपालको आवाज स्थापित गर्नुको विकल्प नभएको विषयमा वक्ताको एकमत रहेको नेपाल प्रेस यूनियन मुस्ताङका अध्यक्ष शुसिलबाबु थकालीले बताउनुभयो । लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को मुख्य उद्देश्य नै पत्रकारिता, जलवायु सङ्कट र न्यू मिडियाको प्रभावमा केन्द्रित भएको बताउनुभयो ।
