
बेनी, २८ वैशाख । चालु वसन्तयाममा म्याग्दी स्थित धौलागिरि हिमालको आरोहण शुरु भएको छ । समुन्द्रि सतहदेखि आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ ।
धौलागिरि विश्वको सातौ अग्लो हिमाल हो । सेभेन समिट टे«क्स मार्फत १३ जना आरोहीले यो यामको पहिलो धौलागिरि आरोहण गरेका हुन् । उक्त कम्पनीका प्रबन्धक थानेश्वर गुरागाइले छ जना विदेशी र सात जना नेपाली टोलीले धौलागिरिको सफल आरोहण गरेका जानकारी दिनुभयो ।
“प्रतिकुल मौसमको सामना गर्दै शनिबार लाक्पा शेर्पाको नेतृत्वमा धौलागिरिको चुचुरोमा पुगेको आरोही टोली आधार शिविर फर्किएको छ,” गुरागाईले कम्पनीको सामाजिक सञ्जाल फेसबुक पेजमा भन्नुभएको छ “केही आरोहीहरु प्रतिकुल मौसमको प्रतिक्षामा छन् ।”

ताईवानका चुङ–हान लु, सर्भियाका ड्रागन सेलिकोभिक, इरानका अफसानेह हेसामी फर्द र मोहम्मदरेजाशराम शाहलाइ, जर्मनीका अन्जा करेन ब्लाचा, पाकिस्तानका साजिद अलीले धौलागिरिको सफल आरोहण गर्नुभएको सेभेन समिट टे«क्सले जनाएको छ ।

उक्त कम्पनीका अनुसार लाक्पा शेर्पा, तारामान तामाङ, पासाङ नर्बु शेर्पा, नजिवाङ पालजर शेर्पा, पुर्वाकुसाङ शेर्पा, पेमदोर्चे शेर्पा र पेमाचुम्बी शेर्पा धौलागिरिको सफल आरोहण गर्ने नेपाली हुन् ।
वैशाख १९ गते दोस्रो आधार शिविर पुगेको टोली आठ दिनको प्रयासपछि आरोहण गर्न सफल भएको हो । शेर्पाहरुले आधार शिविर देखि चुचुरो पुग्ने बाटो बनाउने, झ¥याङ राख्ने र रोप फिक्सीङ (डोरी तान्ने) गरेका थिए ।
पर्यटन विभागका अनुसार चालु बसन्त याममा धौलागिरि हिमाल आरोहणका लागि दुई वटा समूहका नौ जना पुरुष र छ जना महिलाले अनुमति लिएका छन् । सेभेन समिट ट्रेक र १४ पिक्स एक्सीडिसन मार्फत पर्वतारोहीहरुले धौलागिरी चढ्न अनुमति लिएका थिए ।
आरोहण अनुमतिवापत रु. ३६ लाख ९१ हजार दुई सय ६० राजस्व संकलन भएको छ । गत शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीहरुले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।
छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौति हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गर सहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलो पटक धौलागिरिको चुचुरोमा पुग्नुभएको थियो ।
