सामुदायिक विद्यालयमा निशूल्क आवासीय सुविधा

Gandaki Kotihome

बेनी, बेनी नगरपालिका–५ मा रहेको डिम्ब आधारभूत विद्यालयले निशूल्क आवासीय सुविधा उपलब्ध गराउन थालेको छ ।

आर्थिक रुपमा विपन्न, गरिब र घर टाढा भएका विद्यार्थीहरुलाई विद्यालयमै खाने बस्ने सुविधा उपलब्ध गराएको हो । निशूल्क आवासीय सुविधा भएपछि विद्यार्थी संख्या दोब्बरले वृद्धि भएको विद्यालयका प्रअ नारायण पौडेलले बताउनुभयो ।

“एकातर्फ विद्यार्थी संख्या न्युन भएर विद्यालयको कक्षा घटुवा हुने अर्को तर्फ विद्यालय उमेर समूहका विद्यार्थीहरु गरिबीका कारण पढ्न नपाउने समस्या देखिएपछि आन्तरिक स्रोत जुटाएर नयाँ शैक्षिकसत्रको सुरुसँगै आवासीय सुविधा दिन थालिएको हो,” उहाँले भन्नुभयो “यसअघि जम्मा १४ जना विद्यार्थी भएकोमा आवासीय सुविधा सञ्चालन गरेपछि विद्यार्थी संख्या बढेर २८ जना पुगेको छ ।”

Upper Myagdi transmition line notice

भर्ना अभियान जारी रहेकाले अन्त्यसम्म विद्यार्थी संख्या बढ्ने प्रअ पौडेलले बताउनुभयो । चिप्लेटीका साथै छिमेकी नयाँगाउँ, गान्धे, पैयुपाटा, डाडाखेत, थामडाडा, ज्यामीरेका २५ जना विद्यार्थी छात्रावासमा बस्न थालेका छन् ।

Annapurna aarohan ko notice

विद्यालय भवनको कक्षाकोठामा फर्निचर गरेर विद्यार्थीहरुलाई सुत्ने ब्यवस्था मिलाइएको छ । छात्रावासमा बस्ने विद्यार्थीलाई बिहान, बेलुकीको खाना, पोशाक, झोला, शैक्षिक सामग्री, जुत्ता उपलब्ध गराइएको छ ।

शिक्षकहरुले दैनिक रुपमा पालो गरेर छात्रावासका बिद्यार्थीको हेरचाह र रेखदेख गर्ने जिम्मेवारी लिएका छन् । निजी स्रोतका एक जना शिक्षिकालाई थप सुविधा दिएर खाना पकाउने जिम्मेवारी दिएको प्रअ पौडेलले बताउनुभयो ।

विद्यालयको आन्तरिक कोषबाट छात्रावासको फर्निचर, लत्ताकपडा र खाद्यान्न ब्यवस्थापन गरिएको छ । छात्रावासमा बस्ने बालबालिकाहरु मध्य अधिकांश विपन्न र दलित समुदायका छन् ।
“पढाईमा राम्रो भएका बालबालिकाहरु पनि अभिभावकको गरिबीका कारण भोकै विद्यालय आउने र दिवा खाजाको भरमा दिन काट्नुपर्ने दयनिय अवस्था भएपछि छात्रावास सञ्चालन गर्ने निष्कर्षमा पुगेका हौ,” उहाँले भन्नुभयो “घरको काममा अभिभावकलाई सघाउनुपर्दा गृहकार्य गर्न नपाउने र विद्यालयनै छोड्नुपर्ने अवस्था हटाउन विद्यालयमै राखेर पढाउने ब्यवस्था मिलाएका छौ ।”

चुनौतिपूर्ण भएपनि छात्रावास सञ्चालनका लागि बेनी नगरपालिका, समुदाय र दाताहरुबाट सहयोग पाएमा निरन्तरता दिन सकिने प्रअ पौडेलको भनाई छ । कक्षा पाँच सम्मको पठनपाठन हुने उक्त विद्यालयमा पछिल्लो समय विद्यार्थीको संख्या घट्दै गएपछि बेनी नगरपालिकाले कक्षा घटुवाको तयारी गरेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...