
झिँ, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा वडा कार्यालय भवन निर्माण भएको छ । गाउँपालिकाले रु एक करोड ४८ लाखको लागतमा दुई तले सभाहलसहितको भवन निर्माण गरेको हो ।
आर्थिक वर्ष २०७९÷०८० मा शुरु भएको भवन निर्माण कार्य चालु आर्थिक वर्षमा सम्पन्न गरेर सोमबार गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी र स्थानीयबासीहरुको उपस्थिति थियो ।
स्थानीयबासीहरुले नाचगान गरेर खुसीयाली मनाएका थिए । आर्थिक वर्ष २०७९÷८० मा रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँच कोठे भवनको पहिलो तला ढलान भएको थियो । रु ७१ लाख ६६ हजार चार सय १५ मा २०८० चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङ्गरोगन, विद्युत, पानी, फर्निचरको काम गरेको थियो ।

चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. २७ लाख बजेटबाट घेराबार गरेर पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताउनुभयो । भवन निर्माण गर्न रु ५९ लाख खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो ।


भाँडाको घरमा सञ्चालित वडा कार्यालय नयाँ भवनमा सारिएको छ । भवनमा वडाध्यक्ष, सदस्य, सचिव, प्राविधिक र सहायता कक्ष रहेका छन् । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको छ । भाडाका लागि भइरहेको खर्च बचत भएको वडाध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।
आठ वटा वडा रहेको गाउँपालिकाले यसअघि पाखापानीमा वडा नं ६ र भगवतीमा २ नं का लागि भवन निर्माण गरेको थियो । वडा नं ७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ । वडा नं १ बेगखोला, वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन् ।
मौवाफाँटमा सभाहल सहितको भवन बनाएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । रु. एक करोड १५ लाख ८६ हजार चार सय ४७ कबोलेको मातृभूमी डेभलपर्स एण्ड इन्जिनियरीङसँग ठेक्का सम्झौता भएको हो ।
ठेक्का प्रकृयामा मातृभूमी डेभलपर्स सहित १० वटा निर्माण कम्पनीहरु सहभागी भएका थिए । आगामी वर्ष पनि बजेट बिनियोजन गरेर भवन निर्माणलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।
