
बेनी । म्याग्दीको बेनीमा सोमबारदेखि महिला फुटबल प्रशिक्षण शुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला फुटबल संघ म्याग्दीले प्रशिक्षण आयोजना गरेको हो ।
१५ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा ६५ जना सहभागी भएका छन् । बेनी नगरपालिका फुटबल संघका अध्यक्ष देवेन्द्र चोखालले सहभागीको अनुकुलता अनुसार बिहान र साँझ दुई÷दुई घण्टाका दरले प्रशिक्षण दिइने जानकारी दिनुभयो ।

“महिला फुटबल खेलाडी उत्पादन गर्ने र खेलीरहेकाहरुको सिप तथा क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “नियममा रहेर अनुशाषित दंगले खेल्न सक्ने खेलाडी तयार हुने अपेक्षा गरिएको छ ।”

खगेन्द्र पुन र निशान केसीले प्रशिक्षण दिनुहुने जनाइएको छ । म्याग्दीमा पहिलो पटक फुटबल प्रशिक्षण आयोजना गरिएको हो । प्रशिक्षणका लागि बेनी नगरपालिकाले रु. एक लाख बजेट बिनियोजन गरेको छ । व्यक्तिगत दाताहरुको सहयोगमा सहभागीलाई जर्सी उपलब्ध गराइएको र बल लगायत खेल सामग्री जुटाएको फुटलब संघ बेनीका अध्यक्ष चोखालले बताउनुभयो ।
