
दाना, ः पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरनामा पूर्वाधार निर्माण थालिएको छ ।
चिन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको रुप्से झरना अवलोकन गर्ने पर्यटकहरुको सहजताका लागि अन्नपूर्ण गाउँपालिकाले रु. तीन करोड भन्दा बढीको लागतमा पूर्वाधार निर्माण थालेको हो ।
सार्वजनिक शौचालय, फेदी देखि झरनाको माथिल्लो भाग सम्म पुग्ने पहाडमा फलामको रेलिङ सहितको पदमार्ग, झ¥याङ र खाजाघर लगायतका पूर्वाधार गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयो ।

“संघीय सरकारले रु. तीन करोड ६४ लाख विशेष अनुदान उपलब्ध गराएको रुप्से झरना पर्यटन पूर्वाधार योजना कार्यान्वयनका लागि छनौट भएका निर्माण कम्पनीले काम थालेको छ,” उहाँले भन्नुभयो “झरना परिसरमा व्यवस्थित पूर्वाधार बनाएर पर्यटकलाई सुरक्षित रुपमा अवलोकन गर्ने ब्यवस्था मिलाउने उद्देश्य रहेको छ ।”

२०८१ जेठ ३० गते सुन्दर निर्माण सेवाले रु. तीन करोड २३ लाख ५५ हजार तीन सय ६९ मा ठेक्का सम्झौता गरेको योजना वि.स. २०८२ पुष २५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको अन्नपूर्ण गाउँपालिकाका सवईञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिनुभयो ।
सडक छेउमा रहेको झरनाको फेदीमा कटान रोकथामका लागि पक्कि र पहिरो नियन्त्रण गर्न ग्यावीयन पर्खाल निर्माण भैरहेको छ । सो ठाउँको जग्गा सम्माएपछि प्रवेशद्धार, खाजाघर र टिकट काउन्टर बनाउने योजना रहेको वडा अध्यक्ष पुर्जाले बताउनुभयो । फेदी देखि झरनाको माथिल्लो भागसम्म पुग्ने पदमार्ग बनाउन भिरमा फलामको रड राखेर ‘रक एंकरिङ’ गरिएको छ ।
करिब तीन सय मिटर अग्लो झरनामा तीन वटा तह छन् । छङछङ गर्दै झर्ने झरनामा इन्द्रेणी पर्दा आकर्षक देखिन्छ । झरनाको माथिल्लो तहदेखि बाजाढुङ्गा जोड्ने पदमार्ग, उद्यान, गोलघर र दृष्य अवलोकन स्थल बनाउन लागिएको छ ।

हिर्काउदा बाजाको आवाज सुनिने बाजाढुङ्गा परिसर देखि रुप्से झरना, अन्धगल्छी र अन्नपूर्ण हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण र धौलागिरि हिमालको बिचबाट बग्ने कालीगण्डकी नदीले कटान गरेर बनाएको संसारकै गहिरो खोच अन्धगल्छी रुप्से झरनाको नजिकै छ ।
वि.स. २०७७ साउनमा रुप्से खोलामा आएको बाढीले त्यहाँ निर्माणाधिन पुल, होटल, पदमार्ग, लगायतका पूर्वाधार, पार्किङ गरेर राखिएका सवारीसाधन बगाउनुका साथै झरना र अन्धगल्छीलाई कुरुप बनाएको थियो ।
बाढीले क्षति पु¥याएका भौतिक संरचनाको पुनःनिर्माण र नयाँ पूर्वाधार थप गर्न लागिएको हो । झरना अवलोकन, तस्विर खिच्ने र भिडियो बनाउने क्रममा पर्यटकहरु चिप्लिएर लड्ने, चोटपटक लाग्ने समस्या पूर्वाधार बनाएपछि हट्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रुप्से झरनामा घण्टौं समय बिताउँछन् । रुप्से झरनामा बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्वीर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको वडासदस्य लालबहादुर पुनले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा चार लाख २७ हजार जना पर्यटक रुप्से झरनालाई समेटेको बेनी–जोमसोम सडक भएर आवतजावत गरेका थिए । गत चैत महिनामा सडक मार्ग भएर करिब ९० हजार जना पर्यटक मुस्ताङ घुम्न गएका थिए ।
मोटरसाइकल, निजी तथा भाडाका जिप चढेर मुस्ताङ आउने–जाने पर्यटक यस झरनामा गाडी रोकेर पनि केहीबेर प्रकृतिमा रमाउँछन् । झरनाको नजिकै बेलिब्रिज निर्माण गरिएको छ । पहिरो पन्छाएर सडक फराकिलो बनाएपछि जिप तथा मोटरसाइकल पार्किङ गर्न सहज भएको छ ।
ठूला गाडीमा आउने पर्यटकलाई अटाउन व्यवस्थित पार्किङको आवश्यकता छ । अन्नपूर्ण गाउँपालिकालाई भाडा तिरेर स्थानीयले अस्थायी संरचना बनाएर चिया र खाजा पसल सञ्चालन गरेका छन् ।
रुप्से झरना र अन्धगल्छी पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन सकेका छैनन् । व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय, चिया तथा खाजा पसल सञ्चालन गरेर त्यसबाट रोजगारी सिर्जना गर्न र स्थानीय तहको आयस्रोत वृद्धि गर्न सक्ने सम्भावना छ ।
१९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्छन् ।
