
बिम, । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित किसानी सञ्जीवनी अक्षयकोषको बिहिबार घोषणा गरिएको छ । बिमबासीको पहलमा सञ्चालित अभियानको सात महिनाको अवधिमा मा रु. दुई करोड २४ लाख संकलन भएको घोषणा कार्यक्रममा जानकारी गराइएको हो ।
स्वदेश तथा विदेशमा रहेका बिमबासीबाट रु. एक करोड ४८ लाख ८१ हजार चार सय ४९, दरवाङ–म्याग्दीखोला र अपर म्याग्दी जलविद्युत आयोजनाबाट रु. ४० लाख, गाउँमा सञ्चालित आर्थिक संकलन अभियानबाट रु. ३२ लाख ८५ हजार छ सय ९८ र अभियानको अन्त्यमा प्राप्त थप रु. दुई लाख ५९ हजार नौ सय ९९ गरी कुल रु. दुई करोड २४ लाख २७ हजार एक सय ४६ संकलन भएको किसानी सञ्जीवनी अक्षयकोषका संयोजक कृष्णप्रसाद जुग्जालीले बताउनुभयो ।
‘यहाँ अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पु¥याउने उद्धेश्यले स्थापना भएको अक्षयकोषमा हालसम्म रु. दुई करोड २४ लाख २७ हजार बढी रकम संकलन भएको छ । सहयोग आउने क्रम पनि जारी छ,’ अक्षयकोषका संयोजक समाजसेवी जुग्जालीले भन्नुभयो, ‘देश तथा विदेशमा रहेका दिलदार गाउँबासीबाट प्राप्त साथ र सहयोगको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु ।’


गत बर्षको कात्तिक १२ गतेबाट अभियान शुरु गरिएको थियो । विद्यालयको हीरक जयन्ती तथा किसानी सञ्जीवनी अक्षयकोष शुभारम्भ एवं सम्मान कार्यक्रमको गाउँका पूर्व प्रधानपञ्च रत्नप्रसाद पुनले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । उहाँले नयाँ पुस्ताले विद्यालयलाई गरेको योगदानबाट निकै उत्साहित भएको बताउनुभयो ।

प्रमुख अतिथि पुनले बि.स २०२७ सालदेखि निरन्तर विद्यालयको शैक्षिक, भौतिक अभियानमा सँगै रहेको बताउँदै कोषलाई लक्ष्य अनुसार नै प्रयोग गर्ने नयाँ पुस्ताको सक्रियता आवश्यक रहेको बताउनुभयो । ‘हाम्रो पुस्ताले विद्यालय बनाएर यहाँसम्म ल्याएको छ, अब नयाँ पुस्ताले यसलाई संरक्षण गदैं अगाडी बढाउनुपर्छ, बाँचुन्जेल मेरो योगदान सधै हुन्छ ,’ प्रमुख अतिथि पुनले भन्नुभयो ।
कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले विद्यार्थीलाई आयआर्जनसँग जोड्ने शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले पालिका भित्र उत्पादनमा आधारित शिक्षाका लागि बजेटमार्फत सम्बोधन गरिने बताउनुभयो । कार्यक्रममा स्थानीय समाजसेवी पूर्व प्रधानपञ्च कदबहादुर जुग्जाली, गर्फे जुग्जाली, पलबिर जुग्जाली, झकप्रसाद पाईजाले किसानी सञ्जीवनी अक्षयकोषका सहयोगदाताको विवरण सहितको पुस्तकको विमोचन गर्नुभएको थियो ।
विद्यालयमा स्थापित कोषमा गाउँका अति विपन्नले रु. ५० देखि अक्षयकोषका संयोजक कृष्ण प्रसाद जुग्जाली र दाजु दल जुग्जालीको परिवारबाट रु. ११ लाख १२ हजार ५५५, अमेरिकामा बस्नुहुने बिम गाउँका बिजय जुग्जालीले रु. ११ लाख ११ हजार १११, हङकङमा रहनुभएका दल शेरपुञ्जाबाट रु. छ लाख सहित पाँच सय ७८ जनाले सहयोग गर्नुभएको किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले बताउनुभयो ।
उहाँका अनुसार, केहीले खाद्यान्न बेचेर पनि सहयोग गर्नुभएको छ । व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा बि.स २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पढाइ सुरु भएको थियो । हाल यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।
अक्षय कोषका सहयोगदातालाई सम्मान कार्यक्रममा मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल, वडा अध्यक्ष टक बहादुर पुन, स्थानीय समाजसेवी छकप्रसाद पाईजा, अक्षयकोषका संयोजक कृष्णप्रसाद जुग्जालीले मन्तब्य राख्नुभएको थियो । अध्यक्ष कलीप्रसाद जुग्जालीको अध्यक्षता, प्राचार्य जंगबहादुर गर्बुजा, शिक्षक सुरमन गर्बुजाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित नृत्य प्रतियोगितामा बेनीको माउण्ट एभरेष्ट आवासीय मावि प्रथम, गलेश्वर मावी तोरिपानी द्धितिय, बावियाचौरको डनिङ आवासीय मावि तृतिय भएका थिए । प्रथम, द्धितिय र तृतियले क्रमश रु. २५ हजार, रु. १५ हजार, रु. पाँच हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको कृषि प्राविधिक शिक्षालयका शिक्षक विष्णु सुबेदीले जानकारी दिनुभयो । १० टिमको सहभागिता रहेको प्रतियोगितामा ५ समुहलाई प्रति समुह रु. दुई हजार पाँच सय सान्त्वना पुरस्कार वितरण गरिएको थियो । अक्षयकोषमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिनेछ ।
