
चिमखोला, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३७ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजना निर्माण भएको छ ।
तुदी पावर कम्पनी लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, डिसेण्डर (पानी थिग्राउने पोखरी) र सुरुङमा पानी हालेर परिक्षण थालिएको छ । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले मे महिनाको १५ तारिकका दिन परिक्षण उत्पादन शुरु गर्ने समय तालिका अनुसार भौतिक संरचनाको परिक्षण शुरु गरेको जानकारी दिनुभयो ।
“बाँध, डिसेण्डर, सुरुङ र पेनस्टक पाइपलाइनमा पानी भरेर भौतिक संरचनाको परिक्षण भइरहेको छ,” उहाँले भन्नुभयो “विद्युतगृहमा उपकरण जडान सकिएको र प्रशारण लाइन तयार भएको छ ।” पेनस्टेकको परिक्षण सफल भएको र मंगलबारदेखि पानी हालिएको सुरुङ, डिसेण्डर र बाँधमा समस्या नदेखिएको तिमिल्सिनाले बताउनुभयो ।


रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै एक सय दश मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाई भएको पानी थिग्राउने पोखरी निर्माण भएको छ । बाँध देखि पाँच किलोमिटर तीन सय मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगर स्थित विद्युतगृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइपलाइन बनाइएको छ ।

विद्युतगृहदेखि सुरुङको आउटलेटको उचाई तीन सय ६० मिटर छ । वि.स. २०७७ मंसिर महिनादेखि निर्माण शुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रा.ली. हो । चार ठाउँबाट सुरुङ खनिएको थियो ।
माछापुच्छ्रे र बिएमईडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । विद्युतगृहदेखि रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह परिसरमा निर्माण भएको स्विचयार्डसम्म १४ किलोमिटर दुरीको दुई सय २० केभी क्षमताको प्रशारण लाइन निर्माण भएको छ ।
प्रशारण लाइनका ४९ वटा टावर रहेका छन् । आयोजनाबाट उत्पादीत विद्युत दुई सय २० केभी क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा ‘लुप इन, लुप आउट’ (लिलो) माध्यमबाट जोडिने भएको छ । चिमखोला–मंगले–राहुघाट सहित तुदी पावरनै प्रर्वद्धक रहेको ४८ दशमलब पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको लागत रु. १४ अर्ब रहेको छ ।
अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ । चिमखोला–मंगले–राहुघाट राहुघाट वेशीनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत आयोजना हो । राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१ दशमलब तीन मेघावाटको ठुलोखोला र २२ दशमलब तीन मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् ।

