
बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ मा रहेको गलेश्वर देखि अर्को धार्मिक पर्यटकीय स्थल पुलाश्रम जोड्ने सडक स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले रु. तीन करोड ५० लाख भन्दा बढी बजेटको स्रोत सुनिश्चितता गरेको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु. ७२ लाख बजेट बिनियोजन गरेको घतान बेनपा–९ गलेश्वर मन्दिर देखि पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनीबजार सदरमुकाम मोटरबाटो सडक स्तरोन्नति बेनपा ९ शिर्षकको योजनाका लागि रु. तीन करोड ५९ लाख ९८ हजारको स्रोत सुनिश्चित भएको हो ।
बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहिबार स्रोत सुनिश्चतता गरेपछि योजना कार्यान्वयनका लागि पूर्वाधार विकास कार्यालय, म्याग्दीलाई ठेक्का आव्हान गर्ने बाटो खुलेको बताउनुभयो ।

गत कात्तिकमा दिवंगत हुनुभएकी गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले धार्मिक स्थल गलेश्वर, पुलाश्रम र जगन्नाथ जोड्ने यो सडकलाई बहुबर्षीय ठेक्का आव्हानका लागि प्रदेश सरकारसँग प्रस्ताव गर्नुभएको थियो ।
प्रदेश सरकार मार्फत गत वर्ष स्रोत सुनिश्चतता भएको रु. २० करोड बजेटबाट बेनी–पाखापानी सडक अन्तर्गत बेनी नगरपालिका–९ को किराखोर देखि नेप्टेचौर हुदै तोरीपानी जोड्ने चार किलोमिटर सडक स्तरोन्नतिको क्रममा छ ।

म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रि हुँदा बेनी–पाखापानी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले रु. चार करोड बजेट बिनियाजन गरेर रु. २० करोडको स्रोत सुनिश्चतता गर्ने निर्णय गरेको थियो ।
बेनी देखि किराखोर सम्मको सडक स्तरोन्नति गरेको बेनी नगरपालिकाले बेनी–पाखापानी सडक अन्तर्गत ९ नम्बर वडा कार्यालय देखि गिठीनी पात्लेखेत हुदै रघुगंगाको झिँ जोड्ने सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको छ ।
गलेश्वर–पुलाश्रम सहित प्रदेश सरकारले चालु आर्थिक वर्षमा म्याग्दीका तीन वटा सडक र एक वटा झोलुङ्गे पुल निर्माण गर्न बहुबर्षीय ठेक्का आव्हान गर्न स्रोत सुनिश्चतता गरेको छ । म्याग्दी १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा गलेश्वर–पिप्ले–भगवति–बेग सडक अन्तर्गत भगवति–बेग खण्डमा कालोपत्र सहित ढलान गर्न रु. पाँच करोडको ठेक्का आव्हान भएको छ ।
यस वर्ष प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको सिफारिसमा एक÷एक वटा सडक योजनालाई बहुबर्षीय ठेक्का लगाउने निर्णय गरेको थियो । म्याग्दी १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीको सिफारिसमा मालिका गाउँपालिका–२ रुम देखि बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि बिनियोजन भएको रु. तीन करोड बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भइसकेको छ ।
रु. ५५ लाख २७ हजार बजेटको स्रोत सुनिश्चतता भएको मालिका गाउँपालिका–५ थापाचौर र वडा नं.–६ सावटा जोड्ने म्याग्दी नदीमाथि ९६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पनि ठेक्का आव्हान भइसकेको छ ।
सांसद जुग्जाली मन्त्री हुँदा प्रदेश सरकारले गरेको निर्णय अनुसार संघीय र प्रदेश सरकारको साझेदारीमा कार्यान्वयन हुने रु. ९२ करोड बजेटको दरवाङ–धारापानी–ताकम–मुना सडक स्तरोन्नतिको योजना पनि ठेक्का प्रक्रीयामा छ ।
