
बाबियाचौर, बंगुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिनुभएको छ ।
मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय बिमल सापकोटा व्यवसायिक बंगुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो । “कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु. १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपंक्षी फार्म खोलेर बंगुर र बाख्रापालन शुरु गरेको थिए,” उहाँले भन्नुभयो “कुखुरामा डुबेको थिए, बंगुर पालेर उठे ।”
उहाँको फार्ममा हाल ५० वटा बंगुर र २० वटा बाख्रा छन् । मासु र पाठापाठीका लागि ल्याडरेस जातका बंगुर पाल्नुभएको छ । फार्ममा जमुनापारी र खरी जातका बाख्रा छन् ।

सापकोटाले प्रतिकिलो रु. छ सयका दरले मासिक छ हजार देखि सात हजार किलोग्राम बंगुरको मासु र प्रतिगोटा रु. सात हजारका दरले वार्षिक तीन सय बंगुरका पाठापाठी बिक्री हुने बताउनुभयो ।
मासुको बिक्री गर्न सापकोटाले मङ्गला गाउँपालिका–२ बाबियाचौरमा मासु पसल पनि सञ्चालन गर्नुभएको छ । बाबियाचौरका साथै मुस्ताङका होटलहरुमा बंगुरको मासु खपत हुने गरेको छ । फार्ममा बिमल सहित परिवारका थप चार जना सदस्यहरुले रोजगारी पाएका छन् ।


बुवा तारानाथ सापकोटा, आमा चित्रकला र श्रीमति सुकमायाले बिमललाई बंगुरपालनमा सघाउनुहुन्छ । “छिमेकी र आफन्तले बाहुनले बंगुर पाल्न हुदैन भनेर सुझाएका थिए,” तारानाथले भन्नुभयो “पहिले बंगुर नपाल्न सुझाव दिनेहरु अहिले ब्यापार देखेर छक्क पर्छन् ।”
सापकोटाको बंगुर फार्म व्यवस्थित र सफा छ । माउ, भाले, पाठापाठी राख्ने फरक फरक कोठा छन् । रोगबाट बचाउन फार्मको नियमित सरसफाई गर्नुहुन्छ । फार्मको फोहोरलाई सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ ।
सो फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामै पहिलो पटक गत चैत महिनामा उच्च नश्लको कम वोसो भएको अमेरीकन नश्लको शुद्ध बंगुरको ताजा वीर्यबाट कृत्रिम गर्भाधान गरिएको थियो । परियोजनाका साथै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मङ्गला गाउँपालिकाको पशु सेवा शाखाले प्राविधिक सहयोग गरेका छन् ।
सापकोटाको अनुभवमा महामारीजन्य रोगबाट बचाउनु बंगुरपालनको प्रमुख चुनौति हो । दाना आयात गरेर खुवाउनुपर्दा आम्दानीको ठूलो हिस्सा दानामा खर्च हुने गर्छ । बंगुरका पाठापाठी र मासुको माग बढेकाले फार्मको क्षमता विस्तार गर्ने उहाँको योजना छ ।
“घरब्यवहार र परिस्थितिका कारण कक्षा १० पढेपछि ब्यवसायमा जोडिएको थिए,” उहाँले भन्नुभयो “विदेश जाने योजना बनाएको छैन् । स्वदेशमै ब्यवसायलाई निरन्तरता दिन्छु । बंगुरपालनबाट सन्तुष्ट छु ।”
