
बेनी, म्याग्दीको सदरमुकाम बेनी बजार नजिकैको बराहपाखो सामुदायिक वनमा बिहिबार दिउँसो लागेको डढेलो करिब चार घण्टाको प्रयासमा नियन्त्रणमा आएको छ ।
बेनी नगरपालिका–७ र ८ मा फैलिएको वनको हुलाकचोक क्षेत्रबाट दिउँसो १२ बजे शुरु भएको डढेलो तीन बजे नियन्त्रणमा आएको हो । डिभिजन वन अधिकृत बिष्णुप्रसाद अधिकारीले नेपाल प्रहरी, शसस्त्र प्रहरी, वन प्राविधिक र वन समूहका उपभोक्ताहरुको प्रयासमा डढेलो नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।


“डढेलोबाट पाँच हेक्टर वन नष्ट भएको छ,” उहाँले भन्नुभयो “पदमार्गमा थुप्रिएको स्याउला पन्छाएर अग्नीरेखा बनाई डढेलोलाई बजारतर्फ आउनबाट बचाइयो ।” डढेलो नियन्त्रणका लागि बेनी नगरपालिकाको दमकललाई तयारी अवस्थामा राखिएपनि प्रयोग भने भएन् ।

डढेलो लगाउने व्यक्तिको खोजी भइरहेको वन अधिकृत अधिकारीले बताउनुभयो । यस वर्ष डढेलोका कारण हालसम्म २९ वटा सामुदायिक वनको एक सय चार हेक्टर क्षेत्रफलमा क्षति पु¥याएको डिभिजन वन कार्यालयले जनाएको छ । धवलागिरीको नौ, मालिकाको चार, मङ्गलाको दुई, रघुगङ्गाको चार, अन्नपूर्णको छ र बेनी नगरपालिकाको चार वटा सामुदायिक वनमा डढेलो लागेको छ ।
म्याग्दीमा घाँस पलाउने वाहना, अवैध शिकार र आगोको जथाभावि प्रयोगले वनजंगलमा डढेलो लाग्ने गरेको छ । गोठालाहरुले राम्रो घाँस पलाउँछ भनेर जंगल र भिरमा आगो लगाउने चलन छ । शिकारीहरुले वन्यजन्तु र पंक्षीहरुलाई भगाउन डढेलो लगाउँछन् ।
म्याग्दीमा दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । ३६ दशमलब ७६ प्रतिशत वन, एक दशमलब ८५ प्रतिशत झाडी र २१ द्यशमलब २७ प्रतिशत चरन क्षेत्र छ । तीन सय १० वटा सामुदायिक वन उपभोक्ता समूह छन् ।

वन डढेलो नियन्त्रणका लागि समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम, वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्नीरेखा निर्माण लगायतमा सहजीकरण, सुरक्षा निकायलाई आवश्यक पर्ने डढेलो नियन्त्रणका सामाग्री सहयोग गरिएको डिभिजन वन अधिकृत अधिकारीले बताउनुभयो ।
