
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको बयली ओझेलमा परेको छ ।
समुन्द्रि सतहदेखि तीन हजार चार सय ५० मिटर उचाईमा रहेको बयली पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा छ । बयली स्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाईजाले हिमशृङखला, सुर्योदय, पहाडी भूगोलको अवलोकनका साथै एकान्त वातावरणमा रमाउन सकिने यो ठाउँमा न्युन मात्रामा पर्यटकहरु आउने गरेका बताउनुभयो ।
“यहाँसम्म आउने ब्यवस्थित पदमार्ग निर्माण र आकर्षणको प्रचारप्रसार नहुँदा पर्याप्त पर्यटक आगमन हुन सकेको छैन,” उहाँले भन्नुभयो “बयलीलाई ब्यवस्थित गर्न सक्ने हो भने अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटकको बसाई लम्बाउन सकिन्छ ।”

अन्नपूर्ण गाउँपालिका–५ शिख, पाउद्धार, स्वाँत बासिन्दाहरुको अगुवाईमा पर्यटकको सुविधा, गाउँका विद्यालय र स्वास्थ्य संस्था सञ्चालनका लागि स्थानीय स्रोत जुटाउन वि.स. १५ वर्षदेखि बयली, ढाडखर्क र खोपारामा सामुदायिक लज सञ्चालन भएको छ ।
बयलीको तलतिर गुरासँ र सल्लाको जङ्गल छ । माथिल्लो क्षेत्रको पाखोमा घरपालुवा जनावरको बर्खायामको चरन क्षेत्र (बुकी) छ । यहाँ चौरीपालन गरिएको छ । बर्खायाममा भेडाबाख्रा र गाईभैसीको गोठ पनि बयलीमा राख्ने गरिन्छ ।

पश्चिम फर्कीएको पाखोमा अवस्थित बयलीको पृष्ठभूमिमा धौलागिरि ‘रेञ्ज’का हिमालहरु, सुर्योदय र सुर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । म्याग्दीका पहाड र ग्रामिण बस्तिहरु पनि देखिन्छ । बस्ति देखि टाढा रहेको बयलीको वातावरण शान्त र रमणीय छ । चौरीगोठ बयलीको थप आकर्षण हो ।
म्याग्दीको घोडेपानी देखि एक दिन र कास्कीको घान्द्रुक देखि दुई दिनको पदयात्रा गरेर बयली पुग्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा घोडेपानी र घान्द्रुकदेखि बयली जाने आधारभूत स्तरको पदमार्ग छ ।
बयलीको सामुदायिक लजमा एक दिनमा १८ जना बास बस्न सक्ने क्षमता छ । बयली देखि ढाडखर्क हुदै स्वाँत–शिख र खोपारा–खयर–पाउद्धार जान पनि सकिन्छ । बयली देखि ढाँडखर्क सम्मको जङगल र भिरमा पदमार्ग नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सडक विस्तारसँगै छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको बसाई लम्बाउन बयली लगायत सम्भावना भएका गन्तब्यको पहिचान र ती ठाउँमा पूर्वाधार निर्माणको लागि प्रयास गरिएको बताउनुभयो ।
“बयलीलाई पनि नयाँ गन्तब्यको रुपमा विकास गर्न सकिने सम्भावना छ,” उहाँले भन्नुभयो “यस क्षेत्रको निरिक्षण गरेर आवश्यकता पहिचान र पूर्वाधार निर्माणमा पहल गर्छौ ।”
