
बेनी, ः भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणले गति लिएको छ ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गर्न वि.स. २०७७ चैत महिनादेखि शुरु भएको योजना निर्माणले पछिल्लो समय गति लिएको हो ।
आयोजनाका ईञ्जिनियर बिष्णु चापागाईले मालढुङ्गा तर्फदेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्से सम्म पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको, केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप पाँच किलामिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिनुभयो ।

“१३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा करिब दुई किलोमिटर ढलान भइसकेको छ,” उहाँले भन्नुभयो “केराबारी–मिलनचोक–लामाखेत खण्डमा यसै आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्य सहित संरचना निर्माण धमाधम भइरहेको छ ।”

मालढुङ्गा–बेनी सडकलाई ११ मिटर (दुई लेन) फराकिलो बनाएर अस्फाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले वि.स. २०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । नदीजन्य निर्माण सामग्रीको अभावको कारण देखाएर यो सडक निर्माणमा ढिलाई भएको हो ।
यस खण्डको हालसम्मको भौतिक प्रगति करिब ७० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको पाँच किलोमिटर क्षेत्रमा विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ अन्तिम चरणमा पुगेको हो ।
पर्वतबेनी, मिलनचोक र लस्ति बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाई हुँदा निर्माण प्रभावित भएको छ । वि.स. २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्य भन्दा दुई वर्षपछि पूर्णता पाउन लागेकोमा स्थानीयबासी उत्साही भएका जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
सडक निर्माणलाई गति दिन जनप्रतिनिधी, उद्योगी ब्यवसायी र सरोकारवालाहरुले दवाव दिदै आएका छन् । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् ।
‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । यसै आर्थिक वर्षभित्र सडक कालोपत्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।
