
बेनी । बेनीमा आइतबार घरपालुवा र सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण गरिएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले बेनी नगरपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविरमा कुकुरलाई बन्ध्याकरणका साथै रेविज विरुद्धको खोप लगाइएको हो ।

शिविरमा ३९ वटा सामुदायिक र २५ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका पशु सेवा प्राविधिक गणेशप्रसाद रिजालले जानकारी दिनुभयो । एनिमल केयर सेन्टर काठमाडौका पशु चिकित्सक विकास श्रेष्ठ, सुमन थापा र बेनी नगरपालिकाका पशु सेवा शाखाका प्रमुख आषिश सापकोटाले कुकुरहरुको बन्ध्याकरण गर्नुभएको थियो ।

शिविरको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । कुकुरको अनावश्यक वृद्धिदर र रेविजरोग नियन्त्रण गर्ने उद्देश्यले शिविरको आयोजना गरेर कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविज रोग विरुद्धको खोप लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गोपाल गिरीले जानकारी दिनुभयो ।
यसअघि रघुगङ्गा गाउँपालिकाको मौवाफाँटमा शुक्रबार र भगवतिमा शनिबार कुकुरको बध्याकरण शिविर भएको थियो । मौवाफाँटमा ५५ र भगवतिमा ६० वटा कुकुरको बन्ध्याकरण भएको गाउँपालिकाले जनाएको छ । कुकुरको वृद्धिका कारण रेविज र दुर्घटनाको जोखिम बढेकाले शिविर आयोजना गरेर बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाइएको हो ।
