
बेनी । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा यही चैत २९ गते छातिरोग सम्बन्धी खोजपड्ताल शिविर सञ्चालन हुने भएको छ ।
प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको सहयोग, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वय र जलजला गाउँपालिकाको आयोजनामा लुङ्दी आधारभूत विद्यालयमा सञ्चालन हुने शिविरमा एआई प्रविधि जडित एक्सरे मेसिनको सहायताले छाति रोगको पहिचान गर्न लागिएको हो ।
छातीरोग सम्बन्धी बिशेषज्ञहरुको उपस्थितिमा हुने शिविरको तयारी र लक्षित समूहका बिरामीहरुको सहभागिताका लागि बुधबार लामाखेत स्थित जलजला गाउँपालिकाको सभाहलमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वमसेविकाहरुबीच छलफल भएको स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले बताउनुभयो ।

कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले छाति सम्बन्धी स्वास्थ्य समस्या र जोखिममा रहेका सर्वसाधारणहरुका लागि लक्षित गरेर आयोजना गरिएको शिविरमा लक्षित समुदायको सहभागिताका लागि ब्यापाक प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।


शिविरमा जेष्ठ नागरिक, दिर्घरोगी, क्षयरोगीको सम्पर्कमा रहेकाहरुको स्वास्थ्य परिक्षण गरिनेछ् । गर्भवति, १५ वर्षमुनीका बालबालिका र औषधी सेवन गरिरहेका क्षयरोगका बिरामी बाहेकको स्वास्थ्य परिक्षण गरिने प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्रका फोकल पर्सन राजेन्द्र रानाभाटले बताउनुभयो ।
पर्वत जिल्लामा गत वर्ष ७२ जना र चालु आर्थिक वर्षको हालसम्म ४४ जना क्षयरोगका बिरामी पहिचान भएका छन् । सबैभन्दा बढी पैयु गाउँपालिकामा १६ जना क्षयरोगी भेटिएका छन् । आठ जना क्षयरोगी खोजपडताल शिविरका क्रममा पहिचान भएका प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका क्षयरोग फोकल पर्सन नारायणप्रसाद रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार जलजला गाउँपालिकामा चालु आर्थिक वर्षको हालसम्म तीन जना क्षयरोगी पहिचान भएका छन् । समाजमा लुकेर रहेका क्षयरोगीको पहिचान गरि उपचारको पहुँचमा ल्याउने शिविरको प्रमुख उद्देश्य रहेको छ ।
