
बेनी, । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपाहिरोमा परेर दुई जना शेर्पाहरु दुई दिनदेखि वेपत्ता छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको क्याम्प दुई र तीनको बिचमा सोमबार दिउँसो आएको हिउँपहिरोमा परेर सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा बेपत्ता हुनुभएको थियो ।
सेभेन समिट ट्रेकबाट आरोहीको सहयोगी (शेर्पा) का रूपमा हिमालमा गएका उनिहरुको मङ्गलवार बिहानै देखि हेलिकप्टर मार्फत खोजी गरेपनि फेला पार्न नसकिएको उद्धारमा खटिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ३ दानाका इन्द्रसिंह शेरचनले बताउनुभयो ।


“मङ्गलबार दिउसो कैलाश र प्रभुको हेलिकोप्टरबाट सेभेन समिटका शेर्पा सहितको टोलीले खोजी ग¥यौँ तर हराइरहेकाहरूलाई फेला पार्न सकिएन,” उहाँले भन्नुभयो “क्याम्प दुई र तीन को बीचमा निरन्तर हिउँपहिरो खसेको छ ।”
वेपत्ताको खोजीका लागि ड्रोन क्यामेराको पनि प्रयोग गरिएको थियो । अपराहन्नदेखि मौसम खराब भएपछि आधार शिविर फर्किएको उद्धार टोली बुधबार बिहान पुनः त्यसतर्फ जाने भएको छ । टोलीले आरोहणका लागि क्याम्प तीन मा पुगेका चार जना आरोहीहरूलाई हेलिकोप्टर मार्फत आधार शिविर झारेको छ ।
हिँउपहिरोका कारण अन्नपूर्णको चुचुरोमा पुग्ने बाटो र ठाउँठाउँमा राखिएका भ¥याङहरू भत्किएको शेरचनले बताउनुभयो । सोमबार बिहान आठ देखि ११ बजेको बिचमा ३२ जनाले अन्नपूर्ण आरोहण गरेका थिए । चालु बसन्त याममा अन्नपूर्ण आरोहरणका लागि ६६ जनाले अनुमति लिएका छन् ।
