
बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–८ को कुईने गाउँको कोसेरा खोलामा स्टिल ट्रस प्रबिधिको पुल निर्माण भएको छ । पुलको शुक्रबार रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।
३२ मिटर लामो पुलबाट रघुगंगाका कुइने गाउँका करिब एक सय घरधुरीका ४८५ जना जनसङ्ख्या लाभान्वित भएका छन् । रू ३३ लाख २४ हजार हजार १६७ रुपैयाँ को लागतमा पुल निर्माण भएको पुल उपभोक्ता समितिका सचिव इश्वर छन्त्यालले बताउनुभयो ।
पुलको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले पुल निर्माण भएपछि कुईनेका स्थानीयवासीलाई आवत–जावतमा सहज हुने बताउनुभयो । आफूले स्थानीयवासीको आवश्यकता र मागलाई प्राथमिकता दिएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले अघिल्लो आर्थिक बर्षमा नै सम्पन्न हुने पुलको सडक पहिरोको कारण बन्दभएपछि ढिला गरि निर्माण सम्पन्न भएको बताउनुभयो । पालिकाका दुर्गम बस्तीका जनताको आवश्यकता र प्राथमिकताका आधारमा आफुहरुले काम गरिरहेको वडा नं ६ का वडा अध्यक्ष मन कुमार शेरपुञ्जाले बताउनुभयो ।



संघिय सरकारको झुलुङ्गेपुल क्षेत्रको ८५ प्रतिशत, रघुगंगा गाउँपालिकाको १२ प्रतिशत र स्थानीयको दुई प्रतिशत जनश्रमदान र मिलन म्याग्दीको प्राविधिक सहयोगबाट निर्माण भएको पुलले बर्खाको समयमा हिड्न नमिल्ले ठाउँमा पुल बनेपछि सुरक्षित रूपमा यात्रा छोटो र सजिलो भएको उपभोक्ता समितका अध्यक्ष दिनेश छन्त्यालले बताउनुभयो ।
उक्त पुल उद्घाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालको अध्यक्षता, पूर्ण छन्त्यालको स्वागतमा भएको कार्यक्रममा मिलन म्याग्दीका प्रतिनिधि तथा प्राविधिक याम बहादुर विश्वकर्माले समेत पुल निर्माणमा भएको खर्च र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा सार्वजनिक लेखा परिक्षण समेत गरिएको थियो ।
