
बेनी । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शुक्रबार भएको आठौ अधिवेशन एवम् १९ औ कार्यकारी सभाबाट माधवप्रसाद रेग्मी पुनः अध्क्षमा दोहोरीनु भएको छ ।
कोषको उपाध्यक्षमा बमबहादुर पुन, कोषाध्यक्षमा कुमारी रोका, सदस्यहरुमा रमेश प्रसाद सुवेदीर रामजी शर्मा, पुयण्बहादुर चोखाल, टेकबहादुर बानिया, मनु पुन फगामी, देवी प्रसाद छन्त्याल, लक्ष्मीकुमारी केसी (कार्की), पूर्णबहादुर बानिया, धनप्रसाद रोका, रामजी शर्मा र मनोज पौडेल चयन हुनुभएको छ ।
सचिवमा दावी गर्नुभएका बलबहादुर खत्री र सम्मरबहादुर थापाबीच सहमती नजुटेपछि एक हप्तापछि टुङ्गाउने समझदारी बनेको जनाइएको छ । अधिवेशनको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । साधारणसभाले अध्यक्ष रेग्मी, सदस्य सचिव बलबहादुर खत्रीको प्रगति, कोषाध्यक्ष कुमारी रोकाको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
कोषको बिधान अनुरुप पुलस्त्य अन्नदान क्षेत्र नियमित सञ्चालन गरिएको, यज्ञ मण्डपको पुननिर्माण, मुल मन्दिर रंगरोगन, मन्दिर परिसरमा निशूल्क इन्टरनेट, गलेश्वर प्रवेशद्धार देखि रघुगंगा पुलहुदै गायत्री मन्दिर सम्म सडक बत्ती जडान, शसस्त्र प्रहरीबलबाट प्रतिक्षालय निर्माण, सिसिटिभी क्यामेरा जडान, कालीगण्डकी स्नान गर्न जाने मार्ग निर्माण, धार्मिक पुस्तकालय स्थापना, सामुदायिक स्वास्थ्य इकाईको भवनको तलामा सभाहल निर्माण र गलेश्वर बजार सौन्दर्यकरण योजना शुरुवात भएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
कोष अन्तर्गत गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्र, राधाकृष्ण मन्दिर रहेका छन् । कालीगण्डकी रहुनदी नियन्त्रण, गलेश्वर मन्दिर पर्यटन पूर्वाधार निर्माण, गलेशवर बजार देखि गलेश्वर मन्दिर प्रवेशद्धारसम्म ढुंगा बिछ्याउने, गौशाला, त्रियापुत्री भवन, शवदाह संस्कार स्थल र पाकशाला निर्माणका लागि संघीय, प्रदेश सरकार र बेनी नगरपालिकाको कार्यालयमा प्रस्ताव पेश गरिएको सदस्य सचिव खत्रीको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
कोषाध्यक्ष कुमारी रोकाले आर्थिक वर्ष २०८१÷८२ मा रु. आठ करोड ६२ लाख दश हजार र २०८२÷०८३ को रु. नौ करोड आठ लाख ९० हजारको आयब्बय विवरण प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वषृको साउन देखि फागुन मसान्त सम्म रु. ६६ लाख दुई हजार नौ सय ९३ आम्दानी र रु. ४० लाख नौ हजार चार सय ५२ खर्च भै रु. २५ लाख ९३ हजार पाँच सय ४१ बचत भएको जानकारी दिनुभयो ।
अघिल्लो वर्षको अल्या रु. चार करोड ४१ लख २५ हजार दुई सय १९ सहित हाल कोषसँग रु. चार करोड ६७ लाख १८ हजार सात सय ६० मौज्दात रहेको कोषाध्यक्ष रोकाले बताउनुभयो । चालु आर्थिक वर्षको साउन देखि फागुन महिनासम्म मेलापर्वमा रु. २६ लाख पाँच हजार, छ सय ३७, मण्डप भेटि रु. १८ लाख ५४ हजार नौ सय ८०, यज्ञ दर्ता रु. दुई लाख ५० हजार एक सय ५६, यात्री निवास शूल्क रु. दुई लाख ५१ हजार नौ सय ९६, ब्याज आम्दानी रु. नौ लाख ४६ हजार आठ सय ७०, दान दातब्य रु. एक लाख ९९ हजार सात सय ८८, जिन्सी सामान बिक्री रु. एक लाख ९६ हजार ७०, बिबिध रु. चार हजार, स्टल भाडा रु. दुई लाख ८६ हजार चार सय ७० र पार्किङ शूल्क सात हजार २५ आम्दानी भएको छ ।
मन्दिरको आम्दानी कार्यालय, पुजा व्यवस्थापन, मन्दिरका पुुजारी, जेष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ ।

कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथी अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा वौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ ।
हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा बिशेष मेला लाग्ने छ । दैनिक नित्य पुजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पुजाआजा गरेमा मनोकाक्षा हुुने धार्मिक विश्वास छ ।
