
गलेश्वर, । बेनी नगरपालिका–९ गलेश्वरमा सूचना तथा प्रशारण विभागको आयोजनामा घुम्ति शिविर तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको घुम्ति शिविर र तालिमको मंगलबार समापन गरिएको हो । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा प्रेस प्रतिनिधी प्रमाणपत्र वितरण र अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी सेवा दिइएको थियो ।

शिविरमा म्याग्दी, पर्वत र बागलुङका १६ जना पत्रकारहरुलाई प्रेस प्रतिनिधी प्रमाणपत्र वितरण गर्नुका साथै तीन वटा नयाँ अनलाइन सञ्चार माध्यम दर्ता भएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदिप परियारले दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता विकासका साथै विभागको सेवा जिल्ला स्तरमै उपलब्ध गराउन घुम्ति शिविर सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालको पत्रपत्रिका सम्परिक्षण वितरण समितिका सदस्य एवम् पर्वतका उद्यमी हरिओम शर्मा लामिछानेले समाजलाई सूसूचित र जागरुक बनाउन सत्य, तथ्य र सन्तुलित समाचारमा जोड दिनुभयो । तालिममा विषय विज्ञ डा. विजयप्रसाद मिश्रले सहजिकरण गर्नुभएको थियो ।
