
बेनी ः बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल निर्वाचित हुनुभएको छ ।
अनेरास्ववीयुका मन्जुर कटुवाल क्षेत्री सचिव र कोषाध्यक्षमा अस्मिता भण्डारी निर्वाचित भएका छन् । सदस्यहरुमा नेविसंघका विशाल बि.क, डकबहादुर भण्डारी, सम्पूर्ण जि.सी., अनुपम श्रेष्ठ र अनेरास्ववीयुका अविजित शाही बिजयी भएका निर्वाचन समितिका संयोजक पशुपती ढकालले जानकारी दिनुभयो ।
सभापतिमा चोखालले दुई सय ८८ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी अनेरास्ववीयुका दिनेश खत्रीले एक सय ९२, अखिल क्रान्तिकारीका सन्दीप खत्रीले एक सय ७७ र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)का मनिषा दर्जीले पाँच मत प्राप्त गर्नुभएको छ । सचिवमा कटुवालले दुई सय ८३ मत ल्याएर बिजयी हुँदा प्रतिस्पर्धी नेविसंघका प्रतिभा बानियाले दुई सय २६ र क्रान्तिकारीका कृष्ण सापकोटाले एक सय ४४ पाउनुभयो ।


सदस्यमा निर्वाचित नेविसंघका विशाल विकले दुई सय ६४, डकबहादुर भण्डारीले दुई सय ८१, सम्पूर्ण जिसीले दुई सय ५१ र अनुपम श्रेष्ठले दुई सय ८९ र अनेरास्ववीयुका अविजित शाहीले दुई सय ५८ मत प्राप्त गर्नुभयो ।
सदस्यका उमेद्वार नेविसंघका छिमा पुन (युना)ले दुई सय ४१, अनेरास्ववीयुका किशोर खड्काले दुई सय ४१, संगम तिलिजा पुनले दुई सय ३२, अस्मी परियारले दुई सय ४४ र एलिसा गर्बुजाले दुई सय ३५ मत प्राप्त गरेका छन् । अखिल क्रान्तिकारीका सदस्यका उमेद्वारहरु रेशम केसीले एक सय ३५, बिनिता बुणले एक सय ३९, सुवास कटुवालले एक सय ३० र विलोम मल्लले एक सय ३२ मत पाएका छन् ।
मंगलबार भएको स्ववीयु चुनावमा आठ सय २४ जना मतदाता रहेकोमा ८३.२५ प्रतिशत अथवा आठ सय ८६ मत खसेको थियो । समानुपातिक तर्फ अनेरास्ववीयुले दुई सय ७७, नेविसंघले दुई सय ४४, अखिल क्रान्तिकारीले एक सय ४२ र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)ले १० मत प्राप्त गरेका छन् । समानुपातिकबाट नेविसंघ र अनेरास्ववीयुका तीन÷तीन तथा अखिल क्रान्तिकारीका एक जनाले प्रतिनिधित्व गर्ने क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।
वि.स. २०४८ मा स्थापना भएको समुदायद्धारा सञ्चालित म्याग्दी क्याम्पसको स्ववीयु सभापतिमा वि.स. २०६२ पछि यसपाली नेविसंघले जितेको हो । यसअघि अनेरास्ववीयुले जित्दै आएको थियो । मंगलबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म शान्तिपूर्ण रुपमा मतदान भएको थियो । साँझ ७.१५ मा शुरु भएको मतगणना बिहिबार बिहान सकिएको थियो ।
